नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यही मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
लामो समयदेखि सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका निधि १४ औं महाधिवेशनमा भने आमनेसामने हुने भएका छन्।
निधिले यही मंसिर २१ मा सभापति पदका लागि आफूले मनोनयन दर्ता गर्ने र फिर्ता नलिने अडान राखेका छन्।
निधिले बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापतिका लागि तयारी गरेका छन्। बानेश्वरमा बिहीबार कार्यक्रम गरेर निधिले सभापतिमा उम्मेदवारी दिने र त्यसका लागि आफ्नो प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका थिए।
सो अवसरमा निधिले पत्रकारहरूले राखेका केही प्रश्नको जवाफ पनि दिएका थिए। सभापति उठ्ने घोषणा गरेका निधिसँग गरिएको कुराकानीको सम्पादित अंश:
सभापतिका आकांक्षीहरू तपाई, शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भइरहन्छ, के कुराकानी हुन्छ?
प्रकाशमान सिंहजी, शशांक कोइरालाजी, शेखर कोइरालाजीहरूसँग म निरन्तर संवादमा छु। उहाँहरूसँग विस्तृत र गम्भीर संवादमा छु। हामीबीच सकरात्मक संवाद भइरहेको छ।
हामीहरूको साझा दृष्टिकोण के बनेको छ भने- १३ औं महाधिवेशनमा जो प्रतिस्पर्धामा रहनुभएको थियो, उहाँहरू (शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला) यसपालि १४ औं महाधिवेशनमा चुनाव नै नलडिदिए हुन्थ्यो भन्ने भावना हो, यसमा हामी चारै जना सहमत छौं।
१३ औं महाधिवेशनमा तीन जना नेता प्रतिस्पर्धा गर्नुभएको थियो। उहाँहरूका बारेमा हामीहरूको के धारणा छ भने- उहाँहरूले नलडिदिनुभए हुन्थ्यो। यसमा धेरै कुराहरू अन्तरनिहित छ जो भावी दिनमा खुल्दै जानेछ, अहिले नै भनिरहनु परेन।
यो छलफलले केही निष्कर्ष निकाल्यो?
प्रकाशमानजी र शशांकजीसँग मेरो धेरैपटक नै छलफल भएको छ। शेखरजीसँग प्रत्यक्ष रूपमा दुईपटक छलफल भएको छ, फोनमा त संवाद भइरहन्छ।
पदमा समझदारी भयो भने तीन जना नेताका बीचमा समीकरण भयो भन्ने तर पदमा समझदारी भएन भने समीकरण मिलेन भन्ने अर्थमा नलिनु होला।
देउवा-पौडेल-सिटौलाका बीचमा पनि पदमा समझदारी भएको थिएन, अहिले पनि भएको छैन। उहाँहरू लड्नु भएकै हो नि, एकअर्कालाई हराउनुभयो, कोही जित्नुभयो।
अहिले पनि पार्टीको नीति र एजेन्डाका बारेमा आइपर्यो भने उहाँहरू छलफल गर्नुहुन्छ। उहाँहरू छलफल गरेर केन्द्रीय समितिमा राख्नुहुन्छ, छलफल हुन्छ र त्यो पारित पनि हुने गरेको छ।
पदमा समझदारी नभए पनि पार्टी र देशको कार्यक्रम तथा एजेन्डामा समझदारी हुन सक्छ, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो राजनीतिमा। हामीहरू बीचमा पनि त्यस्तै समझदारी बनेको छ। पदीय समझदारीका लागि हामीहरू छलफल गरिरहेका छौं, यसमा म धेरै कुरा गर्न चाहन्न।
सभापतिमा तपाईंले उम्मेदवारी दिने हो?
म पार्टी सभापति पदको उम्मेदवार छु। चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्र पनि मैले सार्वजनिक गरिसकेँ। अब मंसिर २१ मा मनोनयन दर्ता हुन्छ, त्यो दिनमा म सभापति पदमा उम्मेदवारी दर्ता गराउँछु।
केन्द्रमा प्यानलसहित उम्मेदवारी दिने हो? प्रदेशमा के तयारी छ?
प्रदेशहरूमा त्यहाँको अवस्थाअनुसार हुन्छ। कुनै ठाउँमा प्यानल हुन सक्छ, कुनै ठाउँमा एक्लाएक्लै लड्न पनि सकिन्छ। हाम्रो कठिनाइ म नलुकाइकन भन्न चाहन्छु- अधिवेशनको कार्यतालिका र अधिवेशन यति ढिलो भयो त्यसले गर्दा समयको अभाव भयो।
अब कतिपय जिल्लाहरूमा मंसिर १२/१३ गते क्षेत्रीय अधिवेशन हुन्छ। अधिवेशनका अरू मिति निर्वाचन समितिले पनि परिवर्तन गर्दै गएको छ, तर प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने भनेको छ, त्यो सार्न मिल्दैन। यो मिति परिवर्तन हुँदैन किनभने मंसिर २१ मा केन्द्रीय पदाधिकारी र सदस्यहरूका लागि काठमाडौंमा मनोनयन दर्ता गर्ने समय छ।
प्यानल बनाउन सम्भव हुन्न?
प्रदेश महाधिवेशनमा भाग लिने मतदाता को हुन् भन्ने टुंगो नै मंसिर १२, १३ र १४ गतेसम्म लाग्ने देखिन्छ। दुई-तीन दिनको बीचमा एउटै प्यानल बनाउने वा अलगअलग प्यानल बनाउने भन्ने कुरा सम्भव पनि हुन्न र त्यो त्यति महत्वपूर्ण कुरा पनि राख्दैन पार्टीमा। कुनै ठाउँमा प्यानल हुन सक्छ भने कुनै ठाउँमा निर्वाचन हुँदै आन्तरिक समझदारी पनि हुँदै गर्छ।
तपाईंले सभापतिमा देउवाको समर्थन खोज्नुभयो, तपाईं सभापति हुने हो भने देउवालाई कहाँ राख्ने?
यसो हो भने त शेरबहादुर देउवाजी त मार्गदर्शक भइहाल्नु हुन्छ। शेरबहादुरजी, रामचन्द्रजीहरूलाई पार्टीको सर्वोच्च पदमा राख्ने हो। जसरी पार्टीमा गणेशमान, किसुनजीहरू सर्वोच्च नेता हुनुहुन्छ, त्यस्तै गरी हामी राख्छौं।
हामी तीन-चार नेताबीच छलफल गर्दा उहाँहरूलाई राज्यको फरक भूमिकामा पनि राख्न सकिन्छ। त्यो अहिले नै भनिरहनु परेन, पार्टी र राज्यको भूमिका छ।
पार्टीमा उहाँहरूले हामीलाई मार्गदर्शन दिनुहोला। उहाँहरूले भनेअनुसार नै हामी पार्टी सञ्चालन गर्छौं। उहाँहरूसँग सल्लाह गरेर नै उचित सम्मान र उचित भूमिकाका बारेमा तय गर्छौं। राज्यमा धेरै भूमिका छन् त्यसमा तय गर्न सकिन्छ, धेरै समस्या रहँदैन। समस्या हुँदैन भन्ने लाग्छ।
नेताहरूसँग त छलफल भइरहेको भन्नुभयो, सभापति देउवासँग पनि कुराकानी भएका छन् कि?
यसबीचमा सभापतिजीसँग खासै छलफल भएको छैन। मैले उहाँलाई दुई-तीन पटक सभापति म उठ्छु भनिसकेँ। यसबारे मिडियामा खबर आएका छन्। मैले उहाँलाई ज्योतिषको प्रसंग उठाएर प्रधानमन्त्री पो पटक-पटक भनेको त सभापति होइन भन्ने कुरा राखेदेखि भेट भएको छैन।
तपाईंको उम्मेदवारी देउवासँग सहकार्य सकिएको अर्थमा बुझ्न सकिन्छ?
सभापतिमा मेरो उम्मेदवारी कायमै रहन्छ, राजनीतिक सहकार्य त जारी नै रहन्छ। प्रचण्डजी, माधव नेपालजीहरू लगायत अरू पार्टीसँग त सहकार्य हुन्छ भने सँगै जेलनेल गएका पार्टीका नेतासँग सहकार्य हुन्न त? सहकार्यको परिभाषालाई तपाईंहरूले न्यूनिकरण नगरिदिनुहोला।
म सभापतिको उम्मेदवार छु रहन्छु। तर म सभापतिमा भने देउवाको समर्थन चाहन्छु। सबैभन्दा धेरै समर्थन देउवाबाट चाहन्छु। रामचन्द्रजीको पनि समर्थन चाहन्छु। सिटौलाजी, प्रकाशमानजी, शेखरजीलगायतको पनि समर्थन चाहन्छु।
अरू नेताको समर्थन मात्रै लिने कि दिन पनि तयार?
त्यो उहाँसँग कुरा गरौंला अनि तपाईंहरूलाई जानकारी दिऔंला।
कांग्रेसमा हार्नेले गुट चलाउने प्रवृत्ति छ, तपाई पराजित भए गुट चलाउनु हुन्छ कि हुन्न?
तपाईंलाई गुटमा धेरै इन्ट्रेष्ट भएजस्तो लाग्यो, मलाई त गुटमा धेरै रूची छैन।
सभापति उठ्ने भनेपछि अरू नेताहरूसँग कुरा भएको होला, को-को छन् तपाईंको टिममा?
यसबारे धेरै नेताहरूसँग कुरा भएको छ। टिम बनाउनेबारे राम्रो कुरा भएको छ। अहिले कसैले पनि टिम बनाउन सक्नुभएको छैन। १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको चयन भएपछि मात्रै टिम बन्छ। मेरो टिममा युवाहरू हुनेछन् यो टिम समावेशी पनि हुनेछ।
तपाईंको आधार क्षेत्र प्रदेश नम्बर २ हो भन्छन् तर त्यहीँ क्रियाशील सदस्यता विवाद छ, अधिवेशन भइरहेका छैनन्!
यो कुरा भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन! तर म सभापति उठ्ने भनेकै बेलादेखि चौतर्फी आक्रमण भयो प्रदेश नम्बर २ मा। त्यो मलाई नै कमजोर पार्न भएको हो भन्ने लाग्छ। ढिलो गरी अधिवेशन भइरहेका छन्, यो राम्रो होइन।
अब ढिलो गर्नु हुन्न। वडादेखि अधिवेशन गर्नुपर्छ। महाधिवेशन प्रतिनिधिहरू पनि छिटो आउने वातावरण तयार गर्नुपर्छ।
तपाई सभापतिमा जित्ने आधार के हो?
१६५ वटा प्रतिनिधि सभा क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि नै मेरो जितको आधार हो। सबै क्षेत्रबाट मलाई मत दिने साथीहरू नै प्रतिनिधिमा आएका छन्, सबैभन्दा ठूलो आधार नै यही हो।
अन्तिममा, डडेल्धुराको अधिवेशन विवादमा पर्यो। पहिले यसबारे तपाईं बोले पनि अहिले खासै बोल्नुभएन किन?
अस्ति सभापति शेरबहादुर देउवाजीसँग भेट्दा पनि मैले डडेल्धुरामा फेरि पार्टी अधिवेशन गरिदिनुस् भनेको हुँ। म उपसभापति भएकोले सभापतिलाई नै यो कुरा भन्नुपर्यो, सडकमा गएर त बोल्न मिलेन।
डडेल्धुरा कांग्रेसमा देखिएका समस्या हल गर्न पहल गरेको पनि हुँ, लिखित र मौखिम रूपमा। त्यहाँका सभापति कर्ण मल्लसँग पनि भेटेर कुराकानी गरेको हुँ। डडेल्धुरामा देखिएको समस्याले खासगरी पार्टी र सभापति देउवालाई नै सन्देश राम्रो गएको छैन।