नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टीको प्रदेश १ सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सुनसरी कांग्रेसका सभापतिसमेत रहेका कोइरालाले शनिबार इनरुवामा सुरू भएको कांग्रेस जिल्ला अधिवेशनका क्रममा प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
सुनसरी सभापतिमा दुई कार्यकाल बिताएका नेता कोइराला प्रदेश १ को उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत हुन्।
पहिलोपटक संघीय अभ्यासमा जान प्रदेश संयन्त्र बनाउन लागेको कांग्रेस प्रदेश १ को अधिवेशन मंसिर १६ र १७ गते विराटनगरमा आयोजना हुँदैछ।
शेखर कोइराला पक्षधर नेता कोइराला सोही प्यानलबाट उम्मेदवारी घोषणा गर्ने दोस्रो नेता हुन्। यसअघि सोही प्यानलका गुरूराज घिमिरेले पनि मिडियामार्फत् प्रदेश सभापति बन्ने इच्छा व्यक्त गरेका छन्।
त्यस्तै,सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला प्यानलबाट सुधिर शिवाकोटी र उद्धव थापाको प्रदेश सभापतिमा उम्मेदवारी पर्ने चर्चा छ।