नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत रूपमा चयन भएका छन्।
उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृह मन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।
सर्वसम्मत् रूपमा सभापतिमा निर्वाचित भएका खाण यसअघि नेपाली कांग्रेसको रूपन्देही सचिव थिए।
शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा खाणसँगै सबै पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत् रूपमा चयन गरेको नेपाली कांग्रेसले जनाएको छ। जसअनुसार उपसभापति अनिता शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन्।
शाह नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहकी श्रीमती हुन्।
अन्य पदाधिकारीहरूमा सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस रूपन्देहीले जनाएको छ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देहीमा सम्पन्न क्षेत्रीय अधिवेशनहरूमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कुटाकुटको अवस्था सृजना भएपछि सबैको ध्यान रूपन्देहीको जिल्ला नेतृत्वतर्फ केन्द्रित भएको थियो।
यही बीचमा नेताहरू बालकृष्ण खाण, भरत कुमार शाह, रामचन्द्र ढकाल, अष्टभुजा पाठक र अब्दुल रज्जाकका बीचमा भागबन्डामा नेतृत्व चयन गर्ने सहमति भएको थियो। यसअघि गरिएको सहमतिमा जिल्ला सभापतिमा खाणलाई लैजाने गरी सहमति गरिएको भए पनि जिल्लाका अन्य पदाधिकारीहरूमा भने कसलाई लैजाने भन्ने निर्णय गरिएको थिएन।
पार्टी केन्द्रमा शेरबहादुर देउवा समूहमा रहेका बालकृष्ण खाण र भरत शाहले जिल्लामा अलग-अलग समूह स्थापित गरेका छन्।
शाहले आफ्नै श्रीमती अनिता शाहलाई उपसभापति बनाए खाणका भाइ रामकृष्ण खाणलाई सभापति बनाउने गरी सहमति गरेको र सोही अनुसार नेतृत्व चयन गरेको कांग्रेसका एक नेताले बताए।
छलफलमा सहभागी एक नेताका अनुसार खाणलाई जिल्ला सभापति, हाल जिल्ला सभापति रहेका अव्दुल रज्जाकलाई प्रदेश सभापति, पौडेल समूहबाट जिल्ला सभापतिका अध्यक्षका दावेदार अष्टभुजा पाठकलाई प्रदेश सरकारमा मन्त्री बनाउने सहमति भएको छ।
त्यसैगरी पूर्वजिल्ला सभापति समेत रहेका रामचन्द्र ढकाललाई राष्ट्रिय सभा वा समानुपातिक तर्फबाट सांसद बनाउने सहमति भएको छ।
क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य रहेका प्रमोद यादवलाई भने संघीय सरकारमा राज्यमन्त्री बनाउने सहमति भएको ती नेताले बताए।