नुवाकोट कांग्रेसको सभापति रमेश महत विजयी भएका छन्। शनिबार सार्वजनिक भएको मत परिणामअनुसार महतले अर्का उम्मेदवार केदारनरसिंह केसीलाई १० मतले हराएका हुन्। महतले ८३३ मत पाए भने केसीले ८२३ मत ल्याए।
महत नुवाकोटका कांग्रेस नेताहरू रामशरण महत र प्रकाशशरण महतका भतिजा हुन्। केन्द्रीय राजनीतिमा रामशरण र प्रकाशशरण फरक-फरक गुटमा छन्। प्रकाशशरण सभापति शेरबहादुर देउवातिर छन् भने रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेलतिर छन्।
केन्द्रमा फरक-फरक भए पनि जिल्लामा महत दाजुभाइ मिल्दा २१ वर्ष नुवाकोट कांग्रेसको नेतृत्व केसी परिवारबाट महत परिवारमा सरेको हो।
रामचन्द्र पौडेल समूहमा रहेका नेता अर्जुननरसिंह केसीका भाइ जगदीश्वरनरसिंह केसी २१ वर्षदेखि नुवाकोट कांग्रेसका सभापति थिए। यसपालि उनीहरूले आफ्नै अर्का भाइ केदारनरसिंह सभापतिमा उम्मेदवार बनाएका थिए।