नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी भएका छन्।
शनिबार भएको निर्वाचनमा कुल १ हजार ६ सय १८ मतदातामध्ये एक हजार ५ सय ७१ मत खसेको थियो। बोगटीले ८ सय ६ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी बहादुरसिंह थापालाई पराजित गरेका हुन्। थापाले ७ सय १५ मत प्राप्त गरे।
अघिल्लो महाधिवेशनमा बोगटी निवर्तमान सभापति हरि बोहरासँग पराजित भएका थिए।
यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा मीनबहादुर सिंह र हरिशचन्द्र रानाले ७६३ मत पाएर विजयी भएका छन्।
सचिवमा भीमराज भट्टले ७२९ र हेमराज ओझाले ७३० मत पाएर जितेका छन्। उपसचिवमा नाथु साउदले ७२६ र पुस्कर चौधरीले ६७४ मत पाएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निकटका सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा महत्वपूर्ण स्थानमा आउने नेता नेता रमेश लेखक र एनपी साउदबीच गृहजिल्लामा आपसी प्रतिष्पर्धा भएको थियो।
निर्वातिच भएका बोगटी लेखक पक्षबाट उम्मेद्वार थिए भने थापा साउद पक्षबाट थिए।
जिल्ला सभापति जितेका बोगटी र उपसचिवमा जितेका चौधरीबाहेकका अरु एनपी साउद पक्षका हुन्।
अहिले महाधिवेशनमा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभुत्व देखाउन उनीहरु आपसी टक्करमा देखिएका छन्।
यस जिल्लामा कांग्रेसका सबैजसो अधिवेशनमा सावद र लेखककै गुट प्रतिस्पर्धामा देखिएको छ।
महाधिवेशनका विभिन्न तहका चुनावमा कञ्चनपुरको क्षेत्र नम्बर ३ मा लेखक पक्षका मान्छे बढी आएका छन्। लेखकले आफ्नो निर्वाचन क्षेत्रमा निकटका लागि प्राथमिकता दिएको एक कांग्रेस नेताले बताए।
यस्तै कञ्चनपुर- २ मा साउँदका पक्षका बढी निर्वाचित भएका छन्। लेखकनिकट मानिने निवर्तमान् जिल्ला सभापति हरिप्रसाद बोहरा यो क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका थिए।
तीन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र १ मा भने एनपी साउद र दिवानसिंह बिस्टले सहमती गरेर लडेकाले लेखक पक्ष कमजोर देखिएको विश्लेषण गरिएको थियो। यस क्षेत्रमा साउद पक्षका बढी आएका छन्।