नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेवे विजयी भएका छन् ।
थेवे २५० मतान्तरले सभापति पदमा विजयी भएका हुन्। उनको प्यानलकै सबै उम्मेदवार विजयी भएका हुन्।
३ हजार ३ सय ११ मतमा थेवेले १७ सय ७५ मत प्राप्तगरी विजयी बनेको निर्वाचन समितिले जनाएको छ। उनका प्रतिस्पर्धी रामबहादुर कट्टेलले १५ सय १५ मत प्राप्त गरेका हुन्।
त्यसैगरी थेवे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत ल्याएर विजयी हासिल गरेका छन्। उनले १८ सय ८९ मत प्राप्त गरे। अर्का विजयी उपसभापति शेरबहादुर भट्टराईले १६ सय ७४ मत प्राप्त गरेका छन्। कट्टेल प्यानलका प्रेम सम्वाम्फेले १४ सय १५ र शम्शेर गिरीले १२ सय २१ मत प्राप्त गरेका छन्।
थेवे पक्षका सचिव पदमा उम्मेदवार नवीन विमलीले १८ सय ३८ र कृष्ण हुमागाईले १६ सय ७६ मत प्राप्त गरी विजयी बनेका हुन्। उनीहरूका प्रतिस्पर्धी विश्वदीप लिङदेनले १४ सय ३१ र टुमलाल राजवंशीले १३ सय २१ मत प्राप्त गरेका गरेका छन्।
उपसचिव पदमा थेवे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १७ सय ६५ र कमलप्रसाद भण्डारीले १६ सय ६० मत प्रातगरी विजयी बनेका छन्। उनीहरूका प्रतिस्पर्धी उमाराम प्रसाईंले १३ सय ३७ र पदम लिम्बूले १३ सय ४७ मत प्राप्त गरी उपविजेता बनेका छन्। कोषाध्यक्ष पद भने मनोनित गर्ने विधान छ।
नेपाली कांग्रेसको झापा अधिवेशनलाई फरक ढंगले हेरिएको थियो। पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका केन्द्रीय सदस्यको समर्थनमा देउमान थेवेले पार्टी सभापति पदमा उम्मेदवारी दिएका थिए।
कांग्रेस नेता कृष्ण सिटौला लगायत तीन जना केन्द्रीय सदस्यको समर्थन थेवेले पाएका थिए। यता प्रवक्ता विश्वप्रकाश शर्माको एकल समर्थनमा कट्टेललाई उम्मेद्वार बनाइएको थियो।