नेपाली कांग्रेसको महाधिवेशन आउन १२ दिन मात्रै बाँकी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले चार महत्वपूर्ण सवाल अगाडि सारेका छन्।
कांग्रेसको अबको बाटो (रूपान्तरणका १० सुत्र) नामको सानो पुस्तिका नै सार्वजनिक गर्दै पौडेलले त्यसभित्रका चार सवाललाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए।
पौडेल यही मंसिर २४ देखि २६ गतेसम्म हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी छन्। उनले आफ्नो समूहभित्र छलफल गरेर सभापति पदमा एक जना मात्रै उम्मेदवार तय गरिने बताए।
आज पौडेलले नेतृत्वमा भन्दा पनि सैद्धान्तिक विषयमा आफ्ना कुरा राखेका थिए।
पौडेलले मुख्यगरी, चार सवाल उठाए।
पहिलो- लोकप्रियताबाट लोकतन्त्र कसरी बचाउने?
दोस्रो- पार्टीभित्र आन्तरिक लोकतन्त्र खतरामा पर्दैछ,
तेस्रो- अदालत सेटिङमा: यसको उदाहरण संवैधानिक परिषदका क्रियाकलापहरू
र चौथो- प्राथमिकतामा सत्ता भयो, व्यवस्था ओझेलमा हुँदा निमुखाले न्याय पाएनन्।
सुरूमा पौडेलले यसबारे छोटकरीमा व्याख्या गरेर सुनाएका थिए भने आफूले अघि सारेका विषयमा सहभागीहरूबाट 'कमेन्ट' सुन्न चाहेको बताएका थिए।
कांग्रेसले यसपालि नीति र नेतृत्व महाधिवेशन फरकफरक समयमा गर्ने बताएको छ। अहिले नेतृत्वका लागि महाधिवेशन हुँदैछ। तर पौडेल भने नीतिविना नेतृत्वमात्रै छान्नुभन्दा पनि नीतिसहितको नेतृत्व चयन गर्नुपर्नेमा जोड दिन्छन्।
कांग्रेसले लिनुपर्ने नीतिबारे यसअघि पनि आफूले कार्यक्रमहरू, पार्टीका बैठकहरू र सञ्चार माध्यमहरूमा लेख प्रकाशित गरेर निरन्तरता दिइरहेको दाबी उनको थियो।
उनले पछि हुने नीति महाधिवेशनका लागि पनि पृष्ठभूमि तयार पार्न अहिले १० बुँदे कांग्रेस रूपान्तरणका एजेन्डा पस्केको उनको भनाइ छ।
पौडेलका अनुसार लोकप्रियताबाट लोकतन्त्र कसरी बचाउने भन्ने प्रमुख प्रश्न अहिले देखा परेको छ। उनले चितवनमा भइरहेको नेकपा एमालेको दसौं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियातर्फ संकेत गर्दै भने- नेताको लोकप्रियताबाट लोकतन्त्र बचाउनुपर्नेछ।
नेताले आफू लोकप्रिय छु भन्ने आडमा व्यवस्थामाथि नै धक्का दिने खालका गतिविधि गर्न सक्ने भएकोले सचेत हुनुपर्ने उनी बताउँछन्।
यसपछि पौडेल आफ्नै पार्टीभित्र देखिएका विवादबारे कुरा अघि सार्छन्। उनले आफूलाई सुदूरपश्चिमबाट दिनहुँजसो फोन आइरहेको र नेता तथा कार्यकर्ताले मिलेर अगाडि बढ्न सुझाव दिने गरेको बताए।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद त्यसै छाडेर 'एकलौटी' अधिवेशन गर्दा पौडेल पक्षले भाग लिएको थिएन। सुदूरपश्चिमबाट फोन आइरहेका छन् भनेर पौडेलले क्रियाशील सदस्यतामा देखिएका विवादका प्रसंग ल्याएका थिए।
‘क्रियाशील सदस्यता वितरणदेखि नै सुनियोजित धाँधली भएको छ। प्रहरी र प्रशासनको बलमा अधिवेशन गरिएका छन्। बल, छल र सल प्रयोग गरेर सत्ताको दुरूपयोग भइरहेको छ,’ उनले भने। डडेल्धुरामा कांग्रेस अधिवेशन 'प्रहरी घेराभित्र' गरिएको थियो।
पौडेलले राखेको अर्को कुरा हो- दलहरूभित्रको आन्तरिक लोकतन्त्रबारे। दलभित्र आन्तरिक लोकतन्त्र खतरा छ भन्ने पौडेलको बुझाइ छ।
निमुखा जनता पीडामा रहेको र न्याय पनि नपाउने अवस्था देखिएको पौडेल बताउँछन्। यसो हुनुमा दलको आडले पनि काम गरेको उनी तर्क गर्छन्।
‘दलभित्र, अझै गुटभित्रको र सत्ताको नजिक हुनेबाहेक अरूले न्याय नै नपाउनेजस्तो अवस्था छ। निमुखा जनताको अधिकार कुण्ठित भएको छ। अर्कोतर्फ अति दलबन्दी भएको छ। जनता न्याय नपाएर पिल्सीएको अवस्था छ,’ उनले भने।
दलहरूलाई नै अझै लोकतान्त्रिकरण गरेर जनताको समस्या समाधानमा केन्द्रित गरिनुपर्ने उनले बताए। ‘निमुखा जनताको पहरेदार दल बन्नुपर्छ। दलभित्र आन्तरिक लोकतान्त्रिकरण जरूरी छ,’ उनले भने।
उनले सर्वोच्च अदालतभित्र देखिएका विवादबारे पनि छोटो कुरा राखे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा भइरहेको छ। प्रधानन्यायाधीशले निकास दिनुपर्ने र त्यो नै राम्रो हुने पौडेल बताउँछन्।
पौडेल सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक पनि छन्। आफूले केही समयअघि बसेको समन्वय समिति बैठकमा प्रधानन्यायाधीशबारे छलफल गरी निचोडमा पुग्न प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनिसकेको उनले बताए।
‘अदालतमा सेटिङको कुरा आयो। आयोग, संवैधानिक परिषद भत्काउन खोजियो। पहिलेका प्रधानमन्त्रीले संवैधानिक परिषदमा विपक्षी दलका नेता नै नराख्ने अध्यादेश ल्याउनुभयो। नेताहरूले आफू अनुकूल संवैधानिक परिषद र आयोग बनाउन लागे,’ पौडेलले भने, ‘व्यवस्थामै अंकुश लगाउनेजस्ता गतिविधि पहिलेका प्रधानमन्त्रीबाटै भयो।’
उनले सत्तालाई भन्दा पनि व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड पनि दिएका छन्। व्यवस्थाका लागि ७० वर्ष लडेर आएकोले बचाउनुपर्ने उनले बताए।
‘सत्ता होइन व्यवस्थामा महत्व दिऔं। लोकतन्त्र साकार हुँदा सबै पक्ष राम्रो हुन्छ। राजनीतिमा विकृति आयो, हटाउने कसरी,’ उनले भने, ‘विचारको बहस, नीति तथा कार्यक्रम र विचारबारे पार्टीहरूमा प्रतिस्पर्धा छैन। साधन र स्रोतको मात्रै चिन्ता गर्दा त्यसले लोकतन्त्र नै भत्काउँछ कि जस्तो लाग्छ मलाई।’
उनले जनमतमा कम्युनिष्टभन्दा कांग्रेस पछि परेकोमा पनि चिन्ता व्यक्त गरेका थिए।
पौडेलले अघि सारेका विषयबस्तुबारे राजनीतिक विश्लेषक कृष्ण खनालले छोटकरीमा टिप्पणी गरेका थिए। नेता लोकप्रिय हुँदा त्यसले व्यवस्थामै असर पुर्याउनेमा पौडेलसँग खनाल पनि सहमत देखिएका छन्।
‘तत्कालको लोकप्रियता देखाएर राज्यसत्ता कब्जा गर्ने गतिविधि देखियो,’ उनले भने। उनले वैचारिक बहसले पार्टीभित्र निरन्तरता नपाउने पनि बताए।
‘वैचारिक बहसको खोइ निरन्तरता?,’ खनालले भने, ‘पार्टी त सत्तामा पुग्ने भर्याङ मात्रै बनेको छ।’ नागरिकको चेतनासँग पार्टीको दृष्टिकोण पनि नमिल्ने गरेको उनी बताउँछन्।
पौडेलले आफूनिकट नेताहरू महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य कमला पन्तलगायत राखेर पार्टी रूपान्तरणका सवाल अगाडि सारेका थिए।