कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार चार जिल्लामा निर्वाचित सभापति सबै संस्थापन पक्षइतरबाट निर्वाचित भएका छन्।
काठमाडौं, गुल्मी, दैलेख र सुनसरीमा सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार पराजित भएका हुन्।
काठमाडौंमा कृष्णसबुज बानियाँ सभापतिमा निर्वाचित भएका छन्। उनी प्रकाशमान सिंह र गगन थापाको प्यानलबाट सभापति निर्वाचित भएका हुन्। उनले देउवा पक्षका उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गरे।
सुनसरीमा केदार भण्डारी निर्वाचित भएका छन्।
देउवा समूहका उम्मेदवार सञ्जयप्रसाद श्रेष्ठलाई पराजित गरेका छन्।
उपसभापति विजयकुमार गच्छदार र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको समर्थनमा उठेका श्रेष्ठलाई भण्डारीले पराजित गरेका हुन्। भण्डारी शेखर कोइरालानिकट हुन्।
गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन्। उनले अर्का उम्मेदवार बेदबहादुर थापालाई पराजित गरे।
पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
साथै दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन्। उनी पौडेल समूहका उम्मेदवार हुन्। देउवा समूहका घनश्याम भण्डारीलाई उनले पराजित गरेका हुन्।