नेपाली कांग्रेसले प्रदेश अधिवेशनमा उम्मेदवारहरूको मनोनयन गर्ने मिति सारेको छ।
यसअघि मंसिर १५ मा मनोनयन दर्ता गर्ने भने पनि अब उद्घाटनपछि मात्रै मनोनयन दर्ता हुनेछ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेकोले तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय भएको छ।
यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको थियो। मंसिर १६ मै उद्घाटन गरेर त्यसपछि निर्वाचन प्रक्रिया सुरू गर्न सकिन्छ।
आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर गरिएको थियो।
अब यही मंसिर १७ गते उम्मेदवारहरूले मनोनयन गर्नुपर्नेछ। त्यसपछि १८ र १९ गतेभित्रमा प्रदेश अधिवेशन गरिसक्नुपर्ने हुन्छ किनभने केन्द्रीय महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म हुँदैछ।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन्।