गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ वटा जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ।
अधिवेशनबाट यी जिल्लामा नयाँ नेतृत्व छानिएका छन्।
जिल्ला तहका अधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्यानल नै बनाएर निर्वाचन भएको थियो।
गण्डकीका ९ वटा जिल्लामध्ये ६ वटा जिल्ला सभापतिमा देउवा पक्षले निर्वाचन जितेको छ बरिष्ठ नेता पौडेल पक्षले भने ३ वटा जिल्लामा मात्र निर्वाचन जितेको छ।
अधिवेशन सकिएर बागलुङमा अहिले मतगणना जारी छ भने नवलपुर जिल्लाको अधिवेशन मंसिर १९ गतेका लागि तोकिएको छ।
बागलुङमा देउवा पक्षबाट तीन जना सभापतिका उम्मेदवार थिए। जसमा देउवा पक्षबाट जीत शेरचन र द्रोण कुँवर उम्मेदवार थिए भने पौडेल पक्षबाट जगदिशचन्द्र उपाध्याय उम्मेदवार थिए। पहिलो चरणको निर्वाचनमा कांग्रेसको विधान अनुसार कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएपछि दोस्रो पटक निर्वाचन भएको थियो।
दोस्रो पटकको निर्वाचनमा पौडेल पक्षका उम्मेदवार जगदिशचन्द्र उपाध्याय र देउवा पक्षबाट जीत शेरचन भिडेका छन्। निर्वाचन समितिले पहिला जिल्ला कार्यसमितिको मत गणना गरेकाले सभापतिको मतगणना सुरू नै नभएको जनाएको छ।
गण्डकीमा देउवा पक्षबाट सभापति जित्नेहरू कास्कीमा किशोरदत्त बराल, तनहुँ जीतप्रकाश आले, लमजुङ डा. टकराज गुरूङ, मनाङमा शंकर गुरूङ, पर्वतमा युवराज जोशी र म्याग्दीमा खमबहादुर गर्बुजा छन्।
यस्तै, पौडेल पक्षबाट स्याङ्जामा राजु थापा, मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपानेले सभापति जितेका छन्।