नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा फेरि झडप भएको छ।
जिल्लाको बलरा नगरपालिका–८ मा अधिवेशन चलिरहेको बेला संस्थापन र संस्थापन इतरपक्षबीच भएको झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा मतदान अधिकृत, प्रहरी तथा स्थानीय कांग्रेसी कार्यकर्ता रहेको सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले सेतोपाटीलाई जानकारी दिए।
दुईतर्फी ढुंगाहानाहानबाट उनीहरू घाइते भएको बुढाथोकीले बताए। वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँगको झडपको क्रममा उनीहरूलाई चोटपटक लागेको उनले बताए।
‘दुबैतर्फबाट ढुंगामुढा हुन थाल्यो। भिड तितरबितर पार्न प्रहरीले ६/७ राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको छ। ढुंगामुढाबाट घाइते भएका केहीको अवस्था समान्य छ भने केही व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने।
झडपमा परि जनता मावी फूलपरासीका मतदान अधिकृत झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएका छन्।
निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको प्रहरीको भनाई छ। यसअघि सोही पालिकामा दुई पक्षबीच विवाद हुँदा आइतबार दिउँसो वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए।