नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ललगायत असन्तुष्ट पक्षले रिले अनशन स्थगित गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनशन आज उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा स्थगित गरिएको हो।
डडेल्धुरामा वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले आन्दोलन गरिरहेका थिए।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले एक सदस्यको फरक मतका बीच सोमबार डडेल्धुराका अधिवेशनलाई मान्यता दिएसँगै आज अनशन स्थगित भएको छ।
निवर्तमान सभापति मल्लले अवैध अधिवेशनलाई निर्वाचन समितिले वैध बनाएकोमा विरोध गरेका छन्। उनले फरक तरिकाले संघर्षका कार्यक्रम जारी नै रहने बताएका छन्।
डडेल्धुरा कांग्रेस विवाद समाधान गर्न उपसभापति निधिले यसअघि पनि लिखित र मौखिक रूपमा समस्या समाधानका लागि पहल गरेका थिए। उनले डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ताले राखेका मागप्रति आफ्नो ऐक्यवद्धता रहेकोसमेत बताए।