कांग्रेस लमजुङमा दुई पात्र छन्, जसको एकआपसमा राम्रो बोलचाल थिएन।
नेताद्वय शंकरकान्त जोशी र तुलसीनारायण श्रेष्ठ पार्टीभित्र पनि एउटै गुटमा थिएनन्। जोशी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा थिए भने श्रेष्ठ सभापति देउवा पक्षमा।
यी दुवैको स्वभाव भिन्नै छ। जोशी शान्त स्वभावका देखिन्छन् भने श्रेष्ठ खरो
कांग्रेजजनका अनुसार यिनीहरूको राजनीति गर्ने शैली पनि फरक छ।
जोशीमा रणनीतिक चतुरता देखिन्छ, श्रेष्ठ वैचारिक स्पष्टताका साथै आक्रामक राजनीति गर्छन्।
लमजुङ कांग्रेसको राजनीति लामो समयदेखि यिनै दुई नेताको सम्बन्धमा देखिएको उतारचढावमा घुमिरहेको छ।
कांग्रेस लमजुङका अनुसार यी दुई नेताबीच सम्बन्ध २०४९ सालको जिल्ला विकास समिति सभापतिको निर्वाचनदेखि चिसिएको हो।
त्यतिबेला जिल्ला विकास समितिको सभापतिमा कांग्रेसले जोशीलाई टिकट दियो। देउवा पक्षका श्रेष्ठ बागी उम्मेदवार उठे।
कांग्रेस भित्रबाटै जिल्ला विकास समिति सभापतिमा २ जना उम्मेदवार भए पनि जोशीले चुनाव जिते, बागी श्रेष्ठले हारे।
त्यतिबेला लमजुङ कांग्रेसको किल्ला थियो।
जिल्ला विकास समितिमा मात्र नभई प्रतिनिधि सभामा पनि सधैँ कांग्रेसले चुनाव जित्थ्यो। लमजुङमा देउवा पक्षको राजनीति धानेका श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनमा पनि बागी उठे।
२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा लमजुङ-१ बाट रामचन्द्र अधिकारीले टिकट पाएका थिए। त्यही क्षेत्रमा श्रेष्ठ सांसदको बागी उम्मेदवार उठे। त्यतिबेला संस्थापन पक्षमा रहेका जोशीले पार्टीको आधिकारिक उम्मेदवारलाई नै समर्थन जनाए। अधिकारीले चुनाव जिते।
श्रेष्ठ आफ्नो क्षेत्रमा आफैं बागी उठेका मात्र थिएनन्। क्षेत्र नम्बर-२ मा लेखनाथ अधिकारीलाई बागी उम्मेदवार उठाएका थिए। अधिकारी पूर्वराष्ट्रिय पञ्चायत सदस्य थिए। जिल्लाको राजनीतिमा प्रभावकारी भूमिका राख्थे। तर उनले पनि हारे। पौडेल पक्षका रामबहादुर गुरूङले निर्वाचन जिते।
२०५७ सालमा नेपाली कांग्रेसको १० औं महाधिवेशन भयो। लमजुङ सभापतिमा फेरि जोशी र श्रेष्ठ भिडे। जिल्ला सभापतिमा पनि जोशीले जिते, श्रेष्ठले हारे।
यी दुई नेताबीच लमजुङमा सधैंजसो प्रतिस्पर्धा भइरह्यो।
'प्रतिस्पर्धा पनि यस्तो भयो कि उनीहरूबीच बोलचालसमेत बन्द भयो,' लमजुङका एक नेताले बताए ।
लमजुङ कांग्रेसमा जोशीले जसलाई समर्थन जनायो, यसैले चुनाव जित्ने भाष्य बनाएका थिए।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ बाट श्रेष्ठले टिकट पाए।
संसदीय निर्वाचनमा पहिलो पटक कांग्रेस उम्मेदवारले हारेका थिए।
उक्त क्षेत्रबाट माओवादी उम्मेदवार बुद्धिराम गुरूङ निर्वाचित भए। त्यतिबेला जोशी पक्षले असहयोग गरेकले हार्नु परेको आरोप श्रेष्ठ पक्षले लगाएका थिए।
२०७० मा संविधान सभाको दोस्रो निर्वाचन हुँदा उक्त क्षेत्रबाट देउवा पक्षका उम्मेदवार टंकराज गुरूङले सभासदको टिकट पाए। गुरूङ पनि हारे। एमालेका जमिन्द्रमान घलेले चुनाव जिते।
त्यतिबेला पनि जोशी पक्षले असहयोग गरेको आरोप लाग्यो।
लमजुङ कांग्रेसको राजनीतिमा कसैले चुनाव जित्नुमा जोशीको समर्थन र हार्नुमा उनको असहयोग भएको टीकाटिप्पणी नेताहरूबीच भइरहन्थ्यो।
एकले अर्कोलाई आरोप-प्रत्यारोप चलिरहन्थ्यो। जिल्लाको राजनीतिलाई आफ्नो प्रभावमा राखिराख्न जोशीलाई वरिष्ठ नेता पौडेल पक्षको समर्थन थियो।
लमजुङमा कांग्रेसको गढ बनाउन वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य दिलबहादुर घर्तीको भूमिका उल्लेख्य मानिन्छ।
पञ्चायतकालको भूमिगत राजनीतिमा होस् वा बहुदल आएपछि यिनै दुई नेताले लमजुङको राजनीति निर्धारण हुन्थ्यो। उनीहरूकै छत्रछायामा जोशीले आफ्नो राजनीतिक भूमिका बलियो बनाएका थिए।
देउवाले कांग्रेस विभाजन गरेर गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) का जिल्ला सभापति चुनिएका थिए श्रेष्ठ। नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकता हुँदा जिल्ला सभापतिमा भागबन्डा भयो। देउवा पक्षले लमजुङ सभापति भाग पाएपछि श्रेष्ठ सभापति चुनिएका थिए।
त्यसपछि कांग्रेसको १२ औं एकताको महाधिवेशनबाट लमजुङका सभापति कृष्णप्रसाद कोइराला चुनिए। उनी त्यतिबेला संस्थापन पक्षका नेता थिए।
यसपालि भने अवस्था फेरिएको छ।
संसदीय चुनाव होस् कि पार्टीको चुनाव देउवा पक्षले कहिल्यै नजितेको लमजुङमा यसपालि जित्यो। दोस्रो संविधान सभा चुनाव हारेका गुरूङ जिल्ला सभापति चुनिए।
यसको कारण हो, लामो समय जिल्लाको राजनीतिमा प्रतिद्वन्द्वी बनेका जोशी र श्रेष्ठको मिल्ती। राम्रो बोलचाल समेत नभएका उनीहरू मिलेपछि यसपालि जिल्लामा देउवा पक्षले जितेको हो।
उनीहरूको मिलापमा पूर्वसभापति कोइराला पनि जोडिएका छन्।
तर पौडेल पक्षका जोशी र कोइरालाले आफूहरू देउवा गुट प्रवेश नगरेको बताएका छन्।
उनीहरूले अन्याय भएको कारण पौडेल पक्षलाई साथ दिन नसकेको तर्क गर्छन्।
अन्यायको विरूद्ध लागेको र परिस्थितिले सभापतिमा गुरूङलाई जिताउन परेको उनीहरूको दाबी छ।
जोशी र कोइराला पौडेल पक्षबाट क्षेत्रीय सभापति रहेका बृषराज गुरूङलाई जिल्ला सभापतिमा उम्मेदवार बनाउन चाहन्थे। तर जिल्लाका अन्य नेताहरू मानेनन्। त्यसैले उनीहरूले विद्रोह गरेको कतिपय नेताहरूको धारणा छ।
पौडेल पक्षबाट सभापति उठेका गमप्रसाद गुरूङ कांग्रेस विभाजन हुँदा देउवाको प्रजातान्त्रिक कांग्रेसमा लागेका थिए।
अहिले उनै गमप्रसाद पौडेल पक्षका सभापति उम्मेदवार भए।
उता सभापति जितेका टकराज भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पौडेल पक्षबाट स्ववियु सभापति जितेका थिए।
यी कारणहरूले गर्दा जोशी र कोइरालाले पौडेल पक्ष छाडेर देउवा पक्षमा गई साझा प्यानल बनाए।
देउवा पक्षमा मिल्न जानुमा उनीहरूले जिल्लाभित्रको कांग्रेस राजनीतिमा ‘बहादुर समूह’को विरूद्ध लागेको बताएका छन् भने वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य दिलबहादुर घर्तीको ज्यादतीका विरूद्ध उठेको पनि बताउँछन्।
कांग्रेस लमजुङमा केन्द्रीय सदस्य दिलबहादुर घर्ती, लगातार तीन पटक संसदीय निर्वाचन जितेका पूर्वमन्त्री रामबहादुर गुरूङ, जिल्ला सभापति भेषबहादुर पौडेल, संविधान सभा सदस्य चन्द्रबहादुर कुँवरहरूको एउटा समूह छ। जसलाई बहादुर समूह भनिन्छ। उनीहरू सबैजना वरिष्ठ नेता पौडेल पक्षका हुन्।
जिल्ला सभापतिमा उनीहरूले गमप्रसादलाई साझा उम्मेदवार बनाउने अडान लिएकाले जोशी र कोइरालाले साथ छाडेको कतिपयको टिप्पणी छ।
वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य घर्तीले जिल्लाका नेताहरूलाई सधैँ उपेक्षा गरेकाले पनि विद्रोह गरेको जोशी र कोइराला पक्षको तर्क छ।
कांग्रेस लमजुङमा देउवा पक्षसँग मिल्नुपर्ने परिस्थिति बाध्यताले बनेको जोशीले बताए।
‘पार्टीभित्र दादागिरी र हेपाहा प्रवृत्ति देखियो,’ उनले भने, ‘राजनीतिमा कोसँग मिल्ने र कोसँग नमिल्ने भन्ने कुरा परिस्थितिमा भर पर्दोरहेछ।’
१३ औं महाधिवेशनमा पौडेल पक्षबाट जिल्ला सभापतिलगायत पदाधिकारी र महाधिवेशन प्रतिनिधि बनाउन निर्णायक भूमिका खेलेका जोशी आफू भने हार्न पुगेका थिए। त्यतिबेला आफूलाई हराउन पौडेल पक्षकै नेताहरू लागेको भन्दै उनले गुनासो गरेका थिए।
गत वर्ष जेठमा बेसीशहरका कार्यकर्ता विजय श्रेष्ठले जोशीलाई कुटपिट गरे। उक्त घटनाका दोषीलाई कारबाहीका सवालमा पार्टीले कुनै भूमिका नखेलेको भन्दै उनले पार्टीको जिल्ला सदस्यबाट राजीनामा बुझाएका थिए। त्यसयता, जोशी पौडेल समूहबाट टाढिदै गएका थिए।
जिल्ला अधिवेशनमा जोशीले देउवा पक्षलाई समर्थन जनाउन पुग्दा आफुहरू समेत आश्चर्यचकित परेको उनको भनाई छ।
देउवा समूहलाई साथ दिन पुगेका अर्का पूर्वसभापति कृष्णप्रसाद कोइराला केन्द्रीय सदस्य दिलबहादुर घर्तीका विरूद्ध जिल्लामा समिकरण बनाउन पुगेको बताए।
प्रदेशसभाको गत निर्वाचनमा एमाले नेता पृथ्वीसुब्बा गुरूङसँग हारेका कोइरालाले केन्द्रीय सदस्य घर्ती पार्टीको निर्णायक तहमा रहेका बेलासमेत कार्यकर्ताको संरक्षण गर्न नसकेको, जिल्लामा कार्यकर्तामाथि ज्यादती गरेको, जिल्लाका नेताहरूलाई कुनै अवसर नदिएकोलगायत आरोप लगाए।
घर्ती कांग्रेसका दिवंगत नेता सुशील कोइरालाका आफन्त हुन् ।
‘हामीमाथि केन्द्रीय सदस्य दिलबहादुर घर्ती ज्यूले अन्याय गर्नुभयो, कुनै संरक्षण गर्नुभएन, उनले भने, त्यसैका विरूद्ध जिल्लामा हामी मिलेका हौं, देउवा गुटमा लागेका हौइनौं,’ उनले भने।
पौडेल पक्षले भने सत्ताको दुरूपयोग गरेर देउवा पक्षले सभापति जितेको आरोप लगाएको छ।
जिल्लाको राजनीतिमा विद्रोही छवि बनाएका श्रेष्ठले जिल्लामा अहिले बनेको समिकरण टुट्न नदिने दाबी गरे।
‘विपक्षी दलसँग भिड्न होस् वा लोकतान्त्रिक आन्दोलनमा हामी सँगसँगै छौं,’ उनले भने, ‘उहाँ (जोशी) र मेरो कार्यशैली मात्र फरक हो, अब एकजुट भएरै अघि बढ्छौं।’