नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला २०३४ सालमा पोखरा आउँदा तनहुँका जीतप्रकाश आले स्वागत सत्कारमा खटिएका थिए।
त्यसयता निरन्तर कांग्रेसको राजनीतिमा लागेका आलेले अहिलेसम्म कुनै लाभको पद पाएनन्। पदका लागि उनले पनि मरिहत्ते नगरेको कांग्रेस नेताहरू नै बताउँछन्।
राजनीतिक जीवनको ४४ वर्ष लामो यात्रामा आलेले तनहुँमा निष्ठावान नेताको छवि बनाएका छन्।
२०४७ सालको परिवर्तनपश्चात कांग्रेसभित्र अहिलेका सभापति शेरबहादुर देउवाले गुटगत गतिविधि गरेको आलेलाई मन परेन। उनी विरोधमा उभिए।
पार्टीभित्र देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल गुट संस्थागत हुँदा आलेले आफ्नै गृहजिल्लाका नेता पौडेललाई साथ दिँदै आए।
जारी १४ औं महाधिवेशन प्रक्रियामा भने आले देउवा समूहको समर्थनमा जिल्ला सभापति चुनिएका छन्। बरिष्ठ नेता पौडेल समूहले सभापतिका लागि समर्थन नदिएपछि उनी देउवाकहाँ गएका हुन्।
उनलाई सभापति बनाउन देउवा पक्षका नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्ले, कृष्णप्रसाद सिटौला समूहमा रहेका युवा नेता प्रदीप पौडेल लगायत नेताहरूले समर्थन गरेका छन्।
बरिष्ठ नेता पौडेलका तर्फबाट सभापति उम्मेदवार बनेका निवर्तमान सभापति एवं व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई हराएर आलेले सभापति जितेका हुन्।
देउवा पक्षको समर्थनबाट जिल्ला सभापति जिते पनि आलेले आफू कुनै गुटगत राजनीति नगर्ने बताइरहेका छन्।
‘म पौडेल र देउवा भनेर सभापति भएको होइन, कांग्रेस भएर सभापति बनेको हुँ,’ उनले भने, ‘सबै नेतालाई लिएर हिँड्न सभापति बनेको हुँ, म देउवा गुटको होइन।’
सभापति निर्वाचित भएपछि उनलाई केन्द्रका नेताहरूले सम्पर्क गरेर बधाई दिएका छन्।
सभापति देउवादेखि बरिष्ठ नेता पौडेल र अन्य नेताहरूसँग पनि सम्पर्क भएको आलेले बताए।
अहिलेसम्म राजनीतिमा लागेर कुनै पनि लाभको पद नलिएको बताउँदै आलेले अब सभापति बनेपछि पनि लाभको पदमा नरहने उद्घोष गरे।
बरिष्ठ नेता पौडेलको आफ्नो गृह जिल्ला तनहुँमा मात्र होइन, उनको पकड रहेको कास्की र लमजुङमा पनि पहिलो पटक देउवा पक्षका वा उनले समर्थन गरेका सभापति जिते।
गण्डकीका ११ जिल्लामध्ये स्याङ्जा, मुस्ताङ र गोरखामा मात्र पौडेल पक्षका सभापति निर्वाचित छन्।
कास्की, तनहुँ, लमजुङ, मनाङ, पर्वत, म्याग्दी र बागलुङमा देउवा पक्षका उम्मेदवार वा उनको समूहले समर्थन गरेका उम्मेदवार सभापति जितेका छन्।
गण्डकीको कान्छो जिल्ला नवलपुरमा जिल्ला अधिवेशन १९ गतेसम्मका लागि स्थगित छ।
कांग्रेस गण्डकीमा देउवा पक्ष यसअघि नै बलियो थियो। देउवा पक्षका नेताहरू गोपालमान श्रेष्ठ, अर्जुन जोशी लगायतले गण्डकीका अधिकांश जिल्लालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए।
स्याङ्जामा गोपालमानविरूद्ध उभिएका राजु थापा यसपालि सभापति जितेका छन्।
उनी पनि देउवासँग भने निकट नै रहेको स्याङ्जा कांग्रेसका नेताहरू बताउँछन्।
थापा पक्षका एक नेताका अनुसार अहिले उनी केन्द्रीय सदस्य शेखर कोइरालासँग निकट छन्।
अहिलेसम्म वरिष्ठ नेता पौडेलको ‘पकेट’मा रहेका जिल्लाहरू कास्की, तनहुँ र लमजुङमा सभापति गुमाउनुपर्दा उनी पक्षीय नेता कार्यकर्ता चिन्तित छन्।
यी जिल्लामा प्रदेश र महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षकै बहुमत देखिए पनि सभापतिमा हार्नु भनेको ‘नेता व्यवस्थापन’ गर्न नसकेर हो भन्ने आरोप लागेको छ।
लमजुङ र तनहुँमा सभापतिका उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु र कास्कीमा पौडेल पक्षबाट पहिलो चरणमा ४ जना उम्मेदवार उठाउनु गलत भएको पौडेल पक्षीय एक नेताले बताए।
जबकि, देउवा पक्षले भने एउटामात्र प्यानल बनाएर चुनाव लडेका थिए।
जिल्ला अधिवेशनमा देखिएको कमजोरी सच्याउन बरिष्ठ नेता पौडेल बुधबार पोखरामा नेताहरूसँग छलफलमा व्यस्त छन्।
आसन्न प्रदेश अधिवेशनमा भने पौडेल पक्षले एउटा मात्र प्यानल बनाउन चाहेको देखिन्छ।
कांग्रेस गण्डकीको सभापतिमा पौडेल पक्षबाट नेताहरू यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेल, शुक्रराज शर्मा र महेन्द्रध्वज जिसी आकांक्षी छन्।
उता, देउवा पक्षले भने केन्द्रीय सदस्य अर्जुन जोशीलाई सभापतिमा अघि बढाएर एउटामात्र प्यानल निर्वाचनमा लैजाने तयारी गरेका छन्।
सभापति देउवा पक्ष एक ढिक्का भएका बेला बरिष्ठ नेता पौडेल पक्षका नेताहरू विभाजित देखिएका छन्।
गण्डकी सभापतिमा एउटै प्यानल बनाएर जान नसके प्रदेश सभापति पनि देउवा पक्षकै पोल्टामा पुग्ने पौडेल पक्षको आशंका छ।
आफ्नो पकडमा रहेका जिल्लामा समेत सभापति गुमाउनुपरेको पीडा दोहोरिन नदिन बरिष्ठ नेता पौडेललाई सकस परेको छ।
कांग्रेस महाधिवेशन निर्वाचन तालिका अनुसार मंसिर १७ उम्मेदवारी दर्ता र १९ गते निर्वाचनको कार्यक्रम छ। प्रदेश सभापति लगायत कार्यसमितिका लागि गण्डकीमा ११ सय बढी प्रतिनिधिले मतदान गर्नेछन्।
प्रदेश कार्यसमिति चुन्न पालिका तहका सभापतिदेखि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्।
गण्डकीका अधिकांश जिल्ला सभापति देउवा पक्षले जिते पनि पालिका सभापति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि झिनो मतले पौडेल पक्षको धेरै भएको उनीहरूको आकलन छ।
आफ्नो तर्फबाट साझा उम्मेदवार नउठाउने हो भने पहिलो चरणकै निर्वाचनबाट देउवा पक्षका सभापति उम्मेदवार अर्जुन जोशी निर्वाचित हुन सक्ने उनीहरूको देखिन्छ।
साझा उम्मेदवार छान्न बुधबार पोखरा आएका बरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षीहरूसँग संवाद गरिरहेका छन्। तर, अहिलेसम्म सभापतिका साझा उम्मेदवार बनाउन सहमति जुटेको छैन।
देउवा पक्षका सभापति उम्मेदवार जोशी पक्षले मंगलबार पोखरामा बृहत् कार्यकर्ता भेलामार्फत् उम्मेदवारी घोषणा गरिसकेका छन्।
जोशी पक्ष प्रदेश पदाधिकारी र कार्यसमितिका लागि प्यानल बनाउन र जिल्ला–जिल्लामा मत माग्न थालिसकेका छन्। बरिष्ठ नेता पौडेल साझा उम्मेदवार बनाएरमात्र काठमाडौं फर्कने कास्की कांग्रेसका एक नेताले बताए।
‘जिल्लामा भएका गल्ती प्रदेशका दोहोरिन दिनु हुँदैन,’ ती नेताले भने, ‘हाम्रो साझा उम्मेदवार तय नभएसम्म बरिष्ठ नेता रामचन्द्र दाइ पोखरामै रहनुहुन्छ।’
प्रदेश सभापतिका आकांक्षी बनेका नेताहरू यज्ञबहादुर थापा, अर्जुन जोशी र शुक्रराज शर्माले पोखरामा सचिवालय संचालन गरिसकेका छन्। अन्य आकांक्षी पनि सचिवालय खोल्ने तयारीमा छन्।
देउवा पक्ष एकढिक्का भएर मतदातासमक्ष मत माग्न थालिसक्दा पनि इतर पक्षका आकांक्षी बरिष्ठ नेता पौडेल पक्षले समर्थन खोजिरहेका छन्।
‘सभापतिमा हाम्रो साझा उम्मेदवारको टुङ्गो मनोनयन दर्ता गर्ने बेलामात्र लाग्ला, नत्र सहमति हुने छाँट देखिँदैन,’ पौडेल समूहमा रहेका एक नेताले भने, ‘कोही पनि पछाडि हट्न मान्दैनन्, यस्तो पाराले चुनाव जित्न गाह्रो छ।’