नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा सुरू भएको छ।
कांग्रेसका केन्द्रीय सदस्य तथा गृह मन्त्री बालकृष्ण खाणले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी अधिवेशनको उद्घाटन गरेका हुन्।
अधिवेशनको उद्घाटन गर्दै नेता खाणले सरकारले कोही पनि नागरिक नागरिकताविहीन हुन नपरोस् भनी नागरिकताको समस्या समाधान गर्ने बताए।
कांग्रेसको महाधिवेशनपछि प्रतिनिधि सभामा विचाराधीन रहेको नागरिकता विधेयकलाई परिस्कृत गरेर पास गरिने र नागरिकता नपाएकाहरूले नागरिकता प्राप्त गर्ने बताए।
खाणले उमेर पुगेर पनि नागरिकताविहीन भएका नागरिकलाई नागरिकता दिएर कांग्रेस नेतृत्वको सरकारले नागरिकताको समस्या समाधान गर्ने बताए।
उनले नागरिकताको समस्या राष्ट्रको समस्या भएको उल्लेख गर्दै अब नागरिकता नभएकै कारण कोही पनि राष्ट्रिय विकास र मूल धारमा समावेश हुनबाट बञ्चित हुनुनपर्ने दाबी गरे।
खाणले भूमिहीनलाई जग्गा व्यवस्थापन गर्न पनि सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको बताए।
आगामी निर्वाचन पहिले नै भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उनले बताए।
आगामी १८ गतेसम्म चल्ने अधिवेशनले लुम्बिनी प्रदेशको नेतृत्व चयन गर्नेछ।
प्रदेशको नेतृत्वको लागि पार्टी सभापती शेरबहादुर देउवा पक्षबाट प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति समेत रहेका भरतकुुमार शाहले उम्मेदवारी दिने तयारी गरेका छन्।
त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनले उम्मेवारी दिने तयारी गरेका छन्।
अधिवेशनका लागि लुम्बिनी प्रदेशको निर्वाचन संयोजक तोकिएर आएका खाणले खुलेरै भरतकुमार शाहलाई सर्वसम्मत रूपमा निर्वाचित गर्न आग्रह गरेका थिए।
खाणले अहिले नेपाली कांग्रेसलाई जनताले विश्वास गरेको र उक्त विश्वास जोगाइराख्न चुनौती थपिएको भन्दै सर्वसम्मत नेतृत्व चयन गरी सकारात्मक सन्देश दिनुपर्ने बताए।
उद्घाटन सत्रमा कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कंडेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
नयाँ नेतृत्व चयनका लागि प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी १ हजार ५ सय ८५ जनाले मतदान गर्नेछन्।
बिहीबार अधिवेशनको उद्घाटन गरिए पनि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरू हुने निर्वाचन अधिकृत बुद्धबहादुर थापाले जानकारी दिए।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार दिउँसोसम्म मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदानको कार्यक्रम छ।