नेपाली कांग्रेसले पछिल्लो एक वर्षमा झन्डै चार लाख क्रियाशील सदस्य थप गरेको छ। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा कांग्रेसमा चार लाख ८० हजारमात्रै क्रियाशील सदस्य छन्।
१३औं महाधिवेशन भएको ६ वर्षपछि हुन लागेको कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका क्रियाशील सदस्य झन्डै दोब्बरले बढेका छन्।
कांग्रेस प्रविधि समितिका संयोजक दीपेश बिष्टका अनुसार क्रियाशील सदस्यको संख्या आठ लाख ४० हजार एक सय ६ जना छ।
यो संख्यामा विदेशस्थित जनसम्पर्क समितिका करिब ५० हजार संख्या भने समावेश गरिएका छैनन्। कांग्रेसले चार तहमा छलफल भई आएपछि मात्रै क्रियाशील सदस्यताको अन्तिम सूची तयार पार्छ।
वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रबाट सिफारिस भएर आएका नाममाथि छलफल गरेर जिल्लाबाटै क्रियाशील दिइन्छ।
कुनै पार्टी समायोजन भयो भने केन्द्रबाटै क्रियाशील तोकेर एकमुष्ट रूपमा दिइएका पनि छन्। यसबीचमा कांग्रेससँग विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र सुनिलबहादुर थापालगायत राप्रपाबाट आएका थिए।
गच्छदारले २५ हजार क्रियाशील सदस्य मागेकोमा करिब २१ हजार पाए भने थापाले ९ हजार मागेकोमा करिब ७ हजार क्रियाशील सदस्य पाएका थिए। कांग्रेसमा अखण्ड नेपाल पार्टीलगायतबाट पनि समायोजन भएका छन्।
कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिले अरू पार्टीबाट आएकालाई समायोजन गरेको थियो।
कांग्रेस पार्टीलाई संघीय संरचनाअनुसार ढाल्न विधान संशोधन गर्दै पार्टी संरचना आठ तहमा रहने व्यवस्था गरेको थियो। टोल, वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा कांग्रेसको संरचना तयार हुँदैछ।
कांग्रेसले क्रियाशील सदस्यहरूमध्येबाटै टोल संरचना तयार गर्छ। वडा संरचना पनि क्रियाशील सदस्यहरूमध्येबाटै बन्छ। उनीहरू नै उम्मेदवार र कार्यसमितिमा उठ्छन्।
कांग्रेसका ८ लाख ४० हजार एक सय ६ जना देशभरका छ हजार सात सय ४३ वडा पार्टी कार्यसमिति चयन गर्ने मतदाता हुन्।
यिनीहरूमध्येबाटै प्रत्येक वडामा ९ देखि १५ जनासम्म रहेको कार्यसमिति बनेको छ भने १६ भन्दा धेरै क्षेत्रीय प्रतिनिधिसमेत चुनिएका छन्।
कांग्रेसले यसपालि प्रविधिको उच्चतम प्रयोग गरेर क्रियाशील र नवीकरण सदस्यको 'इन्ट्री' गरेको थियो। यसका लागि देशका १६५ क्षेत्रसहित दुई सय सात ठाउँबाट तथ्यांक 'इन्ट्री' गरिएको थियो।
‘पहिले क्रियाशील सदस्यता र नवीकरणका कागज बोकेर केन्द्रमा धाउनु पर्ने थियो, यसपालि सफ्टवेयर नै बनाएर देशका दुई सय १० ठाउँबाट क्रियाशीलको इन्ट्री गरियो,’ प्रविधि समिति संयोजक बिष्टले भने।
सफ्टवेयरमै क्रियाशीलको तथ्यांक इन्ट्री गर्दा छोटो समयमा व्यवस्थित ढंगले काम गर्न सकिएको उनको भनाइ छ। कांग्रेसले क्रियाशीलको इन्ट्री गर्दा कुन सदस्य के पेशा गर्छन् भन्नेसमेत विवरण राखेको छ।
कांग्रेसले क्रियाशीलको सूची वेबसाइटमा सार्वजनिक गर्दै दाबी/विरोध र उजुरीसमेत आह्वान गरेको थियो। करिब पाँच हजार उजुरी परेका थिए।
केन्द्रीय सदस्य रमेश लेखक र पछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा क्रियाशीलमाथि परेका उजुरी समाधान गरिएका थिए। डडेल्धुराबाहेक अरू जिल्लामा अहिले क्रियाशील सदस्यता विवाद छैन।
कांग्रेसले क्रियाशीलमाथि परेका उजुरीलाई मसिनोसँग केलाएको थियो। केन्द्रीय सदस्य लेखकले सभापति देउवालाई प्रतिवेदन बुझाएपछि पनि १२ हजारभन्दा बढी क्रियाशील सदस्यको नाम हटाइएको छ।
पहिलो चरणमा क्रियाशील सूचीमा नाम आएकाहरूको अहिले सूचीमा नाम छैन। छानबिनका क्रममा धेरैको नाम हटाइएको थियो। कांग्रेसले साधारण सदस्य लिएपछि मात्रै क्रियाशील दिने व्यवस्था गरेको छ।
कांग्रेसमा सबैभन्दा कम कर्णाली प्रदेशमा क्रियाशील सदस्य छन्। यहाँको जनसंख्या पनि कम नै छ। साथै सुदूरपश्चिम प्रदेशमा पनि कम संख्यामा क्रियाशील सदस्य छन्। सबैभन्दा धेरै क्रियाशील सदस्य बागमती प्रदेशमा छन्।
कांग्रेसमा यसपालि युवाहरूको आकर्षण पनि देखिएको छ। कांग्रेसकै भातृ संस्था नेविसंघ, तरूण दललगायतमा आवद्ध रहेकाहरू पार्टीमा सक्रिय भएको र विभिन्न पार्टी समायोजन भई कांग्रेसमा क्रियाशील हुँदा पनि क्रियाशील सदस्य संख्या बढेको छ भने युवा पनि नेतृत्वमा आएका छन्।
उमेरअनुसार हेर्ने हो भने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उक्त उमेर समूहमा जम्मा ११ हजार छ सय २३ जना क्रियाशील सदस्य छन्।
सभापति देउवा र नेता पौडे ७५ वर्ष नाघिसकेका छन्। कांग्रेसमा ७० वर्ष माथिका क्रियाशील सदस्य सबैभन्दा थौरै छन् भने ४१ देखि ६० वर्ष उमेर समूहमा सबैभन्दा धेरै तीन लाख २१ हजार एक सय ७४ जना छन्।
कांग्रेसमा पुरूष हाबी छन्। छ लाखभन्दा बढी पुरूष क्रियाशील सदस्य हुँदा पुगनपुग दुई लाख हाराहारीमा महिला क्रियाशील सदस्य छन्।
कांग्रेसले पार्टीका हरेक संरचनामा महिलालाई ३३ प्रतिशत ठाउँ दिएको छ। वडादेखि केन्द्रसम्म नै महिला खुला र समावेशीतर्फसमेत राखेर नेतृत्वमा सुनिश्चित गर्न खोजेको देखिन्छ। समावेशीतर्फ पदाधिकारीमा एक जना सहमहामन्त्री महिला हुने व्यवस्था छ। कांग्रेस क्रियाशील सदस्यमध्ये सबैभन्दा धेरै खसआर्य रहेको तथ्यांकले देखाउँछ।
हदबन्दी हटाउँदा युवा नेतृत्वमा
कांग्रेसमा साधारण सदस्यता लिएको एक वर्षपछि मात्रै क्रियाशील सदस्यता दिने विधानको व्यवस्था छ।
चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्ने भए पनि समय घर्किंदै पार्टी नै अवैधानिक हुने संकटमा पर्ने खतरा देखिएपछि विधानका यस्ता केही व्यवस्था यो महाधिवेशनका लागि भन्दै निलम्बन गरिएका छन्।
छोटो समयमा महाधिवेशन गर्नुपर्ने र अन्य पार्टीबाट समायोजन भई आएकालाई पनि उम्मेदवारीलगायतबाट बञ्चित गर्न नहुने भन्दै कांग्रेसले विधानमा रहेको क्रियाशीलको हदबन्दी खुला गरेको थियो।
क्रियाशील लिन एक वर्ष कुर्न नपर्ने, क्रियाशील लिएपछि सिधै पार्टीको वडा तहमा सभापतिदेखि कार्यसमिति र क्षेत्रीय प्रतिनिधि बन्न पाइने भएपछि झन् क्रियाशील लिनेहरू बढेका छन्।
कांग्रेसले वडा, पालिका र प्रदेश सभा क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि उठ्न पनि यसपालि क्रियाशील लिएको यतिउति समयको हदबन्दी लगाएको छैन।
१३ औं महाधिवेशनसम्म पनि क्रियाशील लिएको ४ वर्ष पुगेकाले मात्रै महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन पाउने व्यवस्था थियो। विधानको यो व्यवस्था १४ औं महाधिवेशनमा भने निलम्बन गर्दा १८ वर्षमै कतिपयले महाधिवेशन प्रतिनिधि जितेका छन्। उमेरको हदबन्दी खुला गर्दा नेतृत्वमा जान इच्छा हुनेहरूलाई सजिलो भएको छ।
कांग्रेस बलियो हुने आशमा आकर्षण
नेकपा फुटेर माओवादी, एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टी बन्यो भने जसपा पनि फुटेर जसपा र लोसपा बने। अहिले एमाले नै ठूलो पार्टी रहे पनि अर्को चुनावमा कांग्रेस नै ठूलो पार्टी बन्ने र विभिन्न अवसर पाइने आशमा पनि युवाहरू कांग्रेसको क्रियाशील सदस्य भएका छन्।
माओवादीलगायतमा सक्रिय रहेका स्थानीय कार्यकर्ता पनि कांग्रेस प्रवेश गरेका छन्। स-साना पार्टीमा क्रियाशील रहेकाहरू पनि यसपालि कांग्रेस क्रियाशील सदस्य हुँदै पार्टीमा सक्रिय रहेका छन्।
संघीय संरचनामा गएपछि पद नै पद!
कांग्रेसले टोलदेखि केन्द्रसम्म ८ संरचना बनाएको छ। यी संरचनामा धेरै नै पदहरू छन्। वडामै कार्यसमिति ९ देखि १५ सदस्यीय बनेको छ भने क्षेत्रीय प्रतिनिधि कम्तिमा १६ जना चुनिने व्यवस्था छ।
पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रमा सभापति, अरू कोषाध्यक्षबाहेक अन्य पदमा दुई जनाभन्दा धेरै रहने व्यवस्थाका कारण पनि कांग्रेसमा नेतृत्वमा पुग्नेको आकर्षण बढेको छ।
पार्टी समावेशी बनाउन कांग्रेसले आठ कल्स्टरबाट वडादेखि केन्द्रसम्मै विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिदिएको छ। महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मुश्लिम, अल्पसंख्यक, अपांगता भएका, थारू समुदायबाट वडादेखि केन्द्रसम्मै विभिन्न पद सुनिश्चित गरिएका छन्। यसले पनि नेतृत्वमा जान सजिलो बनाउने देखिन्छ।
वडादेखि नै युवाहरू नेतृत्वमा
कांग्रेसमा युवाहरू क्रियाशील सदस्य बनेपछि हस्तक्षेपकारी भूमिकामा देखिएका छन्। वडादेखि नै युवाहरूले पार्टी नेतृत्व परिवर्तनमा भूमिका खेलेका छन्। जसका कारण १८/१९ वर्षमै वडा सभापति हुने अवस्था पनि आएको छ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को सभापतिमा १९ वर्षीया स्वस्तिका महतले जितेकी थिइन्। उनी सर्वसम्मत वडा सभापति भएकी हुन्। उनका बुवा पनि राजनीतिमै थिए।
बुवा भूपेन्द्रजंग महतको निधन भइसकेको छ। नेविसंघको राजनीति गरिरहेकी उनी यसैपालि कांग्रेस क्रियाशील सदस्य र सर्वसम्मत वडा सभापति भएकी थिइन्।
सुदूरपश्चिमकै अछाममा २२ वर्षकी जानकी रावल पनि वडा सभापति भएकी थिइन्। मंगलसेन नगरपालिका ११ को वडा अधिवेशनले गत भदौमा उनलाई सर्वसम्मत वडा सभापतिको जिम्मेवारी दिएको थियो। अछाममा उनी मात्रै महिला वडा सभापति हुन्।
वडा सभापति, क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा युवा पनि आएका छन्।
केन्द्रीय सदस्य बद्री पाण्डे पार्टीमा तल्ला संरचनामै युवाको हस्तक्षेपकारी भूमिका देखिएकोले त्यसको प्रभाव यसपालि केन्द्रीय समितिसम्म नै आइपुग्छ। ‘अधिकांश युवाहरू केन्द्रीय समितिमा आउने सम्भावना देख्छु,’ उनले भने।
नेविसंघ, तरूण दललगायतको अधिवेशन लामो समयदेखि हुन सकेको छैन। कांग्रेसका १८ भातृ संगठनमा नियमित अधिवेशन भएको छैन। ती भातृ तथा विभिन्न शुभेच्छुक संघसंगठनमा लामो समयदेखि क्रियाशील रहेकाहरू त्यहाँ नेतृत्व हस्तान्तरण नहुँदा पार्टी राजनीतिमै क्रियाशील भएका छन् जसका कारण युवाको हस्तक्षेपकारी भूमिका कांग्रेसमा देखा परेको छ।
देश विकास गर्ने हो भने कांग्रेसलाई बलियो बनाउनुपर्ने मनोविज्ञान देखियोः प्रवक्ता शर्मा
कांग्रेसलाई जबरजस्त तरूण बनाउनु पर्ने मनोविज्ञान विकास भएको छ। कांग्रेसलाई हामी बदल्छौं, रूपान्तरण गर्छौं र नवीन बनाउँछौं भन्ने जुन मनोविज्ञान बढेको छ त्यो मनोविज्ञानले पनि युवाहरू पार्टीमा बढ्नुमा प्रभाव दिएको छ।
अर्को, कांग्रेस रूपान्तरण गर्ने मनोविज्ञान देखिने तर ठाउँ नहुने हो भने त्यो सम्भावना हुने थिएन। बितेको ३० वर्षमा क्रियाशील सदस्य संख्या ४ लाख थियो, यसलाई हामीले अहिले वृद्धि गर्ने निर्णय गर्यौं। शतप्रतिशत वृद्धिको निर्णय लियौं।
पछिल्लो समय हामीले दोब्बर संख्यामा क्रियाशील सदस्य वृद्धि गर्यौं। यो संख्यामा ठूलो हिस्सा युवाको छ। कांग्रेस रूपान्तरण गर्दै जानुपर्छ भन्ने युवाको मनोविज्ञानले पनि यसमा काम गरेको छ।
यस्तै क्रियाशील हुनु एउटा पाटो हो। तर पार्टीका अधिवेशनबाट युवाहरू नेतृत्वमा पनि पुगेका छन्। यो देशलाई कम्युनिष्ट पार्टी (नेकपा) ले झन्डै दुई तिहाइसहित सरकार चलाउँदा पनि उसले देखाएका सपना पूरा गरेन, ध्वस्त बनायो। यो देशलाई विकास गर्ने हो भने कांग्रेसलाई नै रूपान्तरण गरेर बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउनुपर्छ भन्ने मनोविज्ञान पनि देखिएको छ। यसले गर्दा पनि कांग्रेसमा युवाको संख्या बढेको छ।
महाधिवेशन प्रतिनिधिमा पनि युवा नै
कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पनि युवाहरू नै आएका छन्। प्रतिनिधि सभा क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउनेमा ३० वर्षभन्दा तल उमेर भएकाहरू धेरै आएका छन्।
‘महाधिवेशन प्रतिनिधिमा १९ देखि ३० वर्षसम्मका युवाको संख्या ठूलो छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यो समूहले अब केन्द्रीय समिति र पदाधिकारीमा पनि आफ्नो उमेर समूहको प्रतिनिधित्व गर्ने नेता खोज्छ।’
युवा महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वमा युवाको अनुहार खोज्ने ती नेता दाबी गर्छन्। ‘सभापति नभए महामन्त्रीमा युवा पुस्ताले आफ्नो अनुहार खोज्छ। आफ्नो उमेर समूह र पुस्ताका मानिस खोज्छ,’ ती नेताले भने।
महाधिवेशन प्रतिनिधि चयन हुँदा पनि समावेशीबाट सुनिश्चित गरिएको थियो। २६ जनामा खुला १० जना मात्रै थिए भने अरू सबै समावेशीतर्फबाट आएका छन्। समावेशी तर्फबाट महाधिवेशन प्रतिनिधिमा आउने अधिकांश युवा छन्।