पोखरा–२२ पुम्दीभुम्दीकी विद्या बराल २५ वर्षकी भइन्। कास्की क्षेत्र नम्बर ३ बाट उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।
लुम्बिनी ईञ्जिनियरिङ कलेजमा अध्ययन गर्दा ०७१ सालमा नेविसंघको सदस्यता लिएकी विद्या पोखरा विश्वविद्यालय इकाइको सहसंयोजक र विभिन्न संघसंस्थामा पनि आवद्ध छिन्।
कांग्रेसको जारी महाधिवेशनका क्रममा: उनीसँग गरिएको कुराकानी:
तपाईं कांग्रेसको राजनीतिमा किन सक्रिय हुनुभयो?
कांग्रेसको सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद छ नि, यही मूलमन्त्र मलाई मन परेर कांग्रेसमा लागेको हो। यो सिद्धान्त बोकेको पार्टीभित्र अटाउन सक्छु भनेरै लागेको हुँ।
देश र समाजका बारेमा कांग्रेसको धारणा के हो जस्तो लाग्छ?
समाजमा रहेका सबै वर्ग र समुदायलाई समेट्न कांग्रेसले सक्छ। सबैलाई ठाउँ पाएका छन्। अन्यायमा पर्दा कांग्रेस नै भए पनि आवाज उठाउन सकिन्छ। देशको हित हुने काम कांग्रेसले गर्छ जस्तो लाग्छ।
नेपाली कांग्रेसले कुन सिद्धान्त बोकेको छ?
राष्ट्रियता, लोकतन्त्र र समाजाद। सबल पार्टी बनाउन मात्र होइन, सभ्य समाज बनाउन पनि यो मूलमन्त्र कार्यान्वयनमा जानुपर्छ।
पार्टीले अहिले त्यो सिद्धान्त बोकेको छ त?
हामी यो पार्टीमा अटाउन सकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनाव लडेर जितेका छौं। अरू पार्टीमा त बोल्ने हक समेत पाएका छैनन्। हाम्रो पार्टीमा ‘स्पेस’ बनाउन सकिएको छ। सबै वर्ग,समुदायले अवसर पाएका छन्। तर यतिमा मात्र सीमित हुनु हुँदैन। अलि माथि उठ्नुपर्छ। नातावाद, कृपावाद त्याग्नुपर्छ। गुट,उपगुट परित्याग गरेर राम्रो कांग्रेस निर्माणमा लाग्नुपर्छ। सबै नेताको एउटै विचार हुँदैन, तर कांग्रेसभित्र पार्टीको सिद्धान्त बोक्ने नेता पनि छन् नि।
पार्टीका कुन नेता सही लाग्छन्?
नेपाली कांग्रेस विपी कोइरालाले बनाएको पार्टी हो। विपीकै अनुयायी भएर हामी पार्टीमा लागेका हौं। त्यसपश्चात, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता नेताहरू आए। अहिले त्यस्तो नेता पाउन सकेका छैनौं। विपीजस्तो नेता भए पार्टी सिद्धान्तमा केन्द्रित हुन्थ्यो होला। विपीमा जस्तो त्याग र चिन्तन अहिलेका नेतामा छैन। अहिलेका नेता आफूमा मात्र केन्द्रित भए। देश र समाजको हित चाहने नेता छान्न नसक्दा यस्तो अवस्था आयो।
राजनीति भनेको के हो?
राजनीति भनेको एउटा यस्तो अस्त्र हो, जसले एकैचोटी समाज र देशमा परिवर्तन ल्याउन सक्छ। राजनीति गतिलो चिज होइन, गतिलो तरिकाले गरिंदैन भन्ने धेरै मान्छेलाई परेको छ। अब यस्तो मान्यता फेर्नुपर्छ।
तपाईंले चाहेको परिवर्तन के हो?
पार्टीभित्र गुट उपगुट र नातावाद कृपावाद अन्त होस्। राम्रो मान्छे, योग्य मान्छे अघि आओस्। राजनीति फोहोरी खेल भन्ने मानसिकता हटाउनुपर्छ। समाजका सबै मान्छेलाई राजनीतिले समेट्न सक्छ भन्ने मान्यता स्थापित हुनुपर्छ। अबको नेतृत्व त्यतातिर लाग्नुपर्छ।
अहिले कांग्रेसले गरिरहेको राजनीति सही छ कि छैन?
कतिपय कार्यकर्ता र नेतामा कस्तो मनोवृत्ती देखिन्छ भने गलत कुरालाई गलत भन्न सकिराखेको छैन। हाम्रो पार्टीले गरेको भन्दैमा सबै कुरा ठिक भन्दिनँ। देश र समाजका लागि अहित छ भने नेता, मन्त्रीले पनि कुरा उठाउन सक्नुपर्छ।
देशका लागि कांग्रेसले के गर्नुपर्छ जस्तो लाग्छ?
नेपालमा बर्षेनी हजारौं युवा बेरोजगार छन्। विदेश जान बाध्य छन्। युवालाई लक्षित गरेर अब कार्यक्रम ल्याउनुपर्छ। रोजगारीको अवसर दिनुपर्छ। अहिले कांग्रेसले सरकारमा रहेर काम गर्ने अवसर पाएको छ। जनतासँग सिधै सम्बन्ध बनाउन सक्छ। जनताको समस्या समाधान हुने गरी काम गर्नुपर्छ। त्यसो भयो भने मात्र आउँदा स्थानीयदेखि संघीय चुनावसम्म जित्न सकिन्छ।
पार्टीमा तपाईंले आफ्नो भविष्य कसरी देख्नुहुन्छ?
राजनीतिमा सपना देखेर आजै साकार पार्छु भनेर राजनीति गरेको होइन। पार्टीभित्र पुस्ता हस्तान्तरणको कुरा उठिराखेको छ। युवालाई अवसर दिनुपर्छ भन्ने नारा बनेको छ। यसको कार्यान्वयन भयो भने कहीँ न कहीँ अवसर पाइएला नि! अरू पार्टीमा युवा पुस्ताले भातृ संस्थाको नेतृत्व गरेका छन्। हाम्रोमा त ६० बर्ष नाघेका आउँछन्। यही महाधिवेशनबाट पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मान्यता छ, यसो भयो भने कांग्रेसमा युवाको आकर्षण अझै बढ्छ।
कांग्रेसले गरेका राम्रा काम के हुन् र खराब काम के हुन्?
कांग्रेसले सबैभन्दा पहिला त लोकतन्त्र ल्यायो। स्वतन्त्रता ल्यायो। गाउँगाउँमा बाटो पुगेका छन्। विकासका काम अघि बढेका छन्। यो काम कांग्रेसले गरेको हो। शिक्षा र स्वास्थ्यमा फड्को मारेको छ। कोरोनाको भ्याक्सिन कांग्रेसकै सरकारले पूरा गर्दैछ। धेरै राम्रो काम गरेको छ।
अर्कोतर्फ सरकार परिवर्तन हुने वित्तिकै पेट्रोलियम पदार्थको मूल्य बढ्ने, बजारमा हरेक कुरा महँगो हुने जस्ता गलत कुरा छन्। यसलाई सच्याउनुपर्छ। जनतालाई असर पर्ने कुरा पार्टीको निर्णय गर्दा होस् कि सरकारमा हुँदा होस् गर्नु हुँदैन।
कांग्रेसले उठाउनुपर्ने राजनीतिक मुद्दा के हुन्?
अब कांग्रेसको मुद्दा नै युवालाई कसरी देशमै रोक्ने भन्ने हुनुपर्छ। स्वरोजगार बनाएर हुन्छ कि, रोजगारी दिएर। अर्को महिला हकहितमा पनि पार्टी लाग्नुपर्छ। देशमा महिला राष्ट्रपति छ भनेर हुँदैन। संविधानमा लेखेर मात्र हुँदैन। पार्टीले स्पष्ट योजना ल्याउनुपर्छ।
अब कांग्रेसको केन्द्रीय सभापति कसलाई बनाउनुपर्छ, किन?
अहिलेका सभापति शेरबहादुर देउवा हुनुहुन्छ। पार्टीमा अरू पनि धेरै नेताहरू हुनुहुन्छ। अब सभापति कसलाई बनाउने भनेर निर्णय गरिसकेको छैन। धेरै जना उम्मेदवार बन्ने कुरा छ। जो भए पनि एउटै व्यक्ति पटकपटक अवसर पाएको हुन हुँदैन। पटक-पटक पार्टी चलाउँदा रिजल्ट आएन। भातृ संस्था चलायमान भएन। त्यही भएर एउटै व्यक्ति हुन हुँदैन। ठाउँ ओगटेर बस्दा काम गरे पनि जस पाउँदैन, नगरे पनि पाउँदैन। अर्को व्यक्तिलाई ठाउँ छाडिदिनुपर्छ। यसो गर्दा अर्को व्यक्तिले अवसर मात्र पाउँदैन, उसले आफ्नो खुबी पनि देखाउन पाउँछ नि!
देशमा अहिले देखिएका समस्या के हुन् जस्तो लाग्छ र त्यसको समाधान कसरी हुनुपर्छ?
अघि नै भनेँ, समस्या युवा बेरोजगारको छ। स्वास्थ्यको छ। अहिले संघीयता आएपछि प्रदेश सरकार पनि छ। तर प्रदेश चलायमान हुन सकेको छैन। जे काम पनि केन्द्रीय सरकारबाटै भएको देखिन्छ। अब प्रदेशलाई पनि अधिकार दिनुपर्छ।प्रदेश सरकारलाई चलायमान बनाउनुपर्छ। संविधानमा लेखेरमात्र हुँदैन। संविधानमा लेखिएको सबै कुरा कार्यान्वयन हुनुपर्छ। अब चुनावमा कांग्रेस पहिलो पार्टी बनाउन यी समस्याको समाधान हुनुपर्छ।