प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले प्रदेश अधिवेशन गर्न सकेको छैन।
केही जिल्लामा वडा अधिवेशन नै नहुँदा त्यसको असर जिल्ला र प्रदेश अधिवेशनसम्मै परेको छ।
कांग्रेसमा तल्ला तहबाट आउने प्रतिनिधिले उपल्लो तहमा कार्यसमिति तय गर्छन्, उनीहरू नै मतदाता हुन्छन्।
प्रदेश अधिवेशन उद्घाटन भएको चार दिन भइसकेको छ। तर अधिवेशनका काम केही सुरू भएका छैनन्। अब केन्द्रीय महाधिवेशनपछि मात्रै प्रदेश अधिवेशन र जिल्ला अधिवेशन गर्ने तयारी छ।
सर्लाही, सप्तरी र रौतहटबाट मतदाता नामावली नै आउन नसकेको निर्वाचन समितिले जनाएको छ।
सर्लाहीका १० वडामा अधिवेशन भएको छैन। विवादित जिल्लाहरुबाट मतदाता नामावली प्राप्त हुन नसकेका कारण पूर्वघोषित निर्वाचन तालिकाअनुसार प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउन नसकिएको कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले बताए।
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रलगायत १० वडाको अधिवेशनसमेत अन्यौलमा परेको छ।
केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सभापति शेरबहादुर देउवाकै दबाबमा वडा अधिवेशन नभएको आरोपसमेत लगाएका छन्।
क्रियाशिल सदस्यता वितरणका बेलादेखि संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच चलिरहेको विवादले सर्लाहीमा पटक–पटक झडप हुँदै आएको छ।
जिल्ला सभापति नागेन्द्र रायका अनुासर सबै क्षेत्रीय तथा बाँकी १० वटै वडाको अधिवेशन गर्ने विषयमा शुक्रबार दुबै पक्षबीच छलफल भएको थियो। तर बैठकले कुनै निर्णय लिन भने सकेन।
अधिवेशनका लागि दुबैपक्षलाई आज पनि छलफलका लागि बोलाइएको छ।
यस्तै बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ मा आज अधिवेशन जारी रहेको रिजालले बताए।
त्यसैगरी महोत्तरीको क्षेत्र नम्बर ३ मा एक पक्षले अधिवेशन सम्पन्न भएर सम्पूर्ण कार्यसमिती चयन भइसकेको दावी गरेको थियो।
तर आफूलाई अपहरण गराएर प्रमाणपत्रमा हस्ताक्षर गराएको भन्दै मतदान अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएपछि जिल्ला निर्वाचिन समितlले त्यहाँको अधिवेशन रद्द गरिदिएको प्रदेश संयोजक रिजालले बताए।
त्यसक्षेत्रमा अधिवेशनको क्रममा: गत बुधबार झडपसमेत भएको थियो। कांग्रेसका उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो।
प्रदेशका सबै वडा र निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइनसकेकाले अधिवेशन सार्नुपर्ने उपसभापति निधि पक्षका नेताहरुले माग गरिरहेका छन्।
‘अहिलेकै अवस्थामा प्रदेश अधिवेशन गर्ने हो भने करिब साढे तीनसय मतदाता प्रदेश अधिवेशनमा भाग लिनबाट वञ्चित हुन्छन्। लोकतान्त्रिक पार्टीले मतदातालाई वञ्चित गरेर अधिवेशन गराउनु उपयुक्त हुँदैन,’ प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा गरेका निधि पक्षका नेता प्रफुल घिमिरेले भने, ‘विवाह पञ्चमी समेत आइसकेको छ। तराई-मधेसका सबैजना पर्वमा व्यस्त छन् । भारतबाट पनि पाहुना आउने क्रम जारी छ, त्यसैले विवाह पञ्चमीपछि मात्र अधिवेशन गरिनुपर्छ।’
तर मंसिरभित्र प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दर्ता नगरिए प्रदेश कार्यसमिती अवैधानिक हुने हुँदा सबै क्षेत्रमा विवाद समाधान गरि तत्कालै प्रदेश अधिवेशन गरिनुपर्ने सभापति शेरबहादुर देउवा पक्षका नेता कृष्ण यादवले बताए।
प्रदेश सभापतिमा उठ्ने चार जना नेताको घोषणा
कांग्रेस प्रदेश सभापतिका लागि हालसम्म चारजना नेताले उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, रौतहटका जिल्ला सभापति कृष्ण यादव, सप्तरीका नेता रंजित कर्ण र अमेरिकाका लागि पूर्वराजदूत सुरेशराज चालिसेले कांग्रेसको प्रदेश २ सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
यसअघि सभापतिका लागि उम्मेदवारी घोषणा गरेका महोत्तरीका जिल्ला सभापति महेन्द्र राय र सप्तरीका दिनेश यादवले देउवा पक्षका नेता कृष्ण यादवलाई समर्थन गर्ने बताइसकेका छन्।
कांग्रेस संसदीय दलका नेता एवं मन्त्री यादव निधि पक्षबाट उम्मेवारी घोषणा गरेका छन्।
त्यसैगरी रनणिती तहत चालिसेलाई समेत निधिले नै सभापतिको उम्मेदवार घोषणा गर्न लगाएको कांग्रेस नेताहरुले बताएका छन्।
उम्मेदावरी घोषणा गरेका कर्णले भने आफू कोराइला–पौडेल समूहका उम्मेदावर भएको दाबी गरेका छन्। अधिवेशन सुरु भएपछि उम्मेदवारी घोषणा गरेका सबै नेताले आ–आफ्नो प्यानल घोषणा गर्ने बताएका छन्।