नेपाली कांग्रेसले पहिलोपटक प्रदेशहरूमा पनि पार्टी संरचना गठन गरेको छ।
विधान संशोधन गरेर संघीय संरचनामा पार्टीलाई ढाले पनि कांग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन।
१४ औं महाधिवेशनका बेला भने कांग्रेसले सातै प्रदेशमा अधिवेशन सुरू गरेको छ। प्रदेश नम्बर २ बाहेक अरू ६ वटा प्रदेशमा अब कांग्रेसको प्रदेश कार्यसमिति तयार भएको छ।
कांग्रेसको प्रदेश कार्यसमिति बलियो भए पनि शीर्ष तहका नेताहरू भने प्रदेश झरेनन्। बरू केन्द्रीय सदस्यहरूका लागि प्रदेश सभापति पद आकर्षणको केन्द्र रह्यो।
प्रदेश नम्बर १ मा केन्द्रीय सदस्य गुरूराज घिमिरे र सुदूरपश्चिम प्रदेशमा बीरबहादुर बलायर प्रदेश सभापति उठ्न गएका थिए। घिमिरे २ मतले पराजित भए भने बलायर भारी मतान्तरले प्रदेश सभापति चुनिए।
कांग्रेसको प्रदेश अधिवेशनमा पनि गुटको प्रतिस्पर्धा भएको थियो। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छ वटा प्रदेशमा प्रतिस्पर्धा भएको थियो।
प्रदेश नम्बर १ र बागमतीमा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष मिलेका थिए। प्रदेश १ सभापतिमा सिटौला पक्षका उद्धव थापा जिते भने बागमतीमा सिटौला पक्षका उम्मेदवार भीमसेनदास प्रधानको सहयोगमा देउवा पक्षका ईन्द्रबहादुर बानियाँ प्रदेश सभापति चुनिएका छन्।
बागमतीमा पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। सभापति देउवा पक्षबाट बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट प्रधान उम्मेदवार थिए। बानियाँले पहिलो, केसीले दोस्रो र प्रधानले तेस्रो मत ल्याएपछि ५१ प्रतिशत मत कसैले पनि नल्याएको भन्दै दोस्रो चरणको मतदान भएको थियो।
दोस्रो चरणमा सिटौला पक्षका प्रधानले खुलेरै देउवा पक्षका बानियाँलाई समर्थन गरेका थिए।
कुन प्रदेशमा को सभापति?
प्रदेश नम्बर १:
प्रदेश नम्बर १ मा उद्धव थापा प्रदेश सभापति चुनिएका छन्। उनले २ मत अन्तरले केन्द्रीय सदस्यसमेत रहेका गुरूराज घिमिरेलाई पछि पारेका छन्। यद्यपी घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्।
थापा सिटौलानिकट हुन्। प्रदेश १ सभापतिमा उनलाई सभापति शेरबहादुर देउवा पक्षको पनि समर्थन थियो। थापाले ८४४ मत ल्याएका थिए। अर्का उम्मेदवार गुरूराज घिमिरेले ८४२ मत ल्याए।
सभापतिसहित अधिकांश पदमा देउवा-सिटौला पक्षले जितेका छन्।
उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्।
सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन्। यहाँ जम्मा एक हजार ७ सय ५२ मत खसेको थियो। प्रदेश १ मा सभापति देउवा-सिटौला पक्ष सफल भएका छन्।
बागमती प्रदेश:
बागमतीको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बानियाँ सभापति शेरबहादुर देउवानिकट हुन्। उनी बागमती प्रदेश संसदीय दलका नेतासमेत छन्।
बागमतीमा पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। देउवा पक्षबाट बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट नेता भीमसेनदास प्रधान सभापति पदमा भिडेका थिए।
पहिलो चरणमा धेरै भोट बानियाँले ल्याए। बानियाँले ९९२ मत ल्याएका थिए भने केसीले ८७२ मत ल्याएका थिए। तेस्रो बढी मत ल्याएका प्रधानले भने दोस्रो चरणमा भएको निर्वाचनमा बानियाँलाई साथ दिएका थिए। प्रधानले १९७ मत ल्याएका थिए।
कांग्रेस विधानमा सभापतिमा उठेकामध्ये ५१ प्रतिशत ल्याउने निर्वाचित हुने व्यवस्था छ। तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि फेरि मतदान भयो। प्रधानको समर्थनमा बानियाँ र दोस्रो बढी मत ल्याएका केसी प्रतिस्पर्धामा उत्रिएका थिए।
बागमतीमा कूल २१५१ मतमध्ये २०२५ मत खसेको थियो। बानियाँले १०८५ मत ल्याएर निर्वाचित भए भने केसीले जम्मा ९२७ मत पाएका थिए। केसी पक्षले नुवाकोटकै नेता रामशरण महत पक्षको सहयोग आफूहरूलाई नभएको दाबी गरेका छन्। नुवाकोट कांग्रेस सभापति पदमा पनि केसी पक्षका नेता केदारनरसिंह केसी महत पक्षका नेता रमेश महतसँग पराजित भएका थिए।
गण्डकी प्रदेश:
गण्डकी प्रदेशको सभापतिमा कास्कीका नेता शुक्रराज शर्मा निर्वाचित भए। संसदीय चुनावमा लगातार पराजित शर्मा पार्टीको चुनावमा भने सफल देखिएका छन्। उनी तीन कार्यकाल कास्की कांग्रेस सभापति थिए।
शर्माले ६१२ मतसहित सभापति जितेका थिए। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भए, उनी सभापति शेरबहादुर देउवानिकट हुन्। जोशीले जम्मा ५२८ मत मात्रै ल्याएका थिए।
गण्डकीमा एक उपसभापतिबाहेक पदाधिकारीमा पौडेल पक्षले जितेका छन्।
उपसभापतिमा कल्पना तिवारी र गण्डकीका सामाजिक विकास मन्त्रीसमेत रहेका मेखलाल श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठ सभापति देउवानिकट हुन्। तिवारी स्याङ्जाका वालिङ नगरपालिकाको उपमेयर हुन्।पौडेल पक्षका तिवारीले ६२४ मत ल्याइन् भने देउवा पक्षका श्रेष्ठले ५५६ मत पाएका थिए।
महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर निर्वाचित भए। उनीहरू पौडेल पक्षका हुन्।
यस्तै महिला सहमहामन्त्रीमा ५५२ मत ल्याएर कोपिला रानाभाट निर्वाचित भइन्। खुला सहमहामन्त्रीमा रमेशकुमार पाण्डेले ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत पाएर विजयी भए। पाण्डे लमजुङको मध्यनेपाल नगरपालिकाका मेयर हुन् भने जोशी पर्वतको कुश्मा नगरपालिकाका मेयर हुन्।
लुम्बिनी प्रदेश:
लुम्बिनी प्रदेशमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रोल्पाका अमरसिंह पुन मगर प्रदेश सभापति निर्वाचित भएका छन्। उनी यसअघि रोल्पा कांग्रेस सभापति थिए।
अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित भए भने सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएर पराजित भए। शाह प्रतिनिधि सभा सांसदसमेत छन्। उनी सभापति शेरबहादुर देउवानिकट छन्।
प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन्।
उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए। खनाल देउवा पक्षका हुन्।
महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन्।
लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।
गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्षले लुम्बिनीमा प्रभाव जमाउन सकेको थिएन। ११ मध्ये ९ जिल्ला सभापतिमा पौडेल पक्षले जितेका थिए। यसको प्रभाव प्रदेश अधिवेशनसम्मै रह्यो।
कर्णाली प्रदेश:
कर्णाली प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। सभापति देउवा पक्षबाट जुम्लाका ललितजंग शाही, वरिष्ठ नेता पौडेल पक्षबाट कालीकोटका भूपेन्द्रजंग शाही र उपसभापति विमलेन्द्र निधिका तर्फबाट कालीकोटकै मोतीलाल बमले सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका थिए।
देउवा पक्षका ललितजंगले ४२२ मत ल्याएर सभापति जिते भने भूपेन्द्रजंगले ३१७ मत र तेस्रो भएका मोतीलालले जम्मा ७ मत मात्रै ल्याएका थिए। केन्द्रीय सभापति उठ्ने घोषणा गरेका उपसभापति निधिले कर्णालीमा प्रदेश सभापति उठाएर आफ्नो उपस्थिति देखाउन खोजेका छन्।
कर्णालीमा जम्मा ७५४ मत खसेको थियो। यहाँ सभापति देउवा पक्षले प्यानल नै जितेको थियो। कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि सभापति देउवा पक्षमै छन्। साथै महामन्त्री पूर्णबहादुर खड्का पनि देउवा पक्षमा छन्। उनीहरूको प्रभाव कर्णालीमा राम्रो देखिएको छ।
सुदूरपश्चिम प्रदेश:
सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा सुरूमा देउवा र पौडेल पक्षबीच सहमतिमै कार्यसमिति चयन गर्ने गरी पटकपटक छलफल भएको थियो। तर पौडेल पक्षले धेरै पदाधिकारी मागेको भन्दै देउवा पक्ष चुनावमै भिड्न तयार देखियो।
प्रदेश सभापतिको उम्मेदवार सभापति देउवाकै जोडबलमा केन्द्रीय सदस्य बीरबहादुर बलायर बनेका थिए। सहमतिका लागि भन्दै देउवा पक्षले बलायरलाई सभापतिमा प्रस्ताव गरेको थियो।
प्रदेश सभापतिमा देउवा पक्षका बलायरको प्यानल नै जितेको थियो। यहाँ वरिष्ठ नेता पौडेल पक्षले नारायणदत्त मिश्रलाई सभापति उठाएका थिए।
यहाँ एक हजार ३ मत खसेको थियो। बलायरले ६८८ मतसहित सभापति जिते भने मिश्रले जम्मा २८० मतमात्रै पाएका थिए।
उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थीले ५३३ मत प्राप्त गरेर बिजयी भए भने महामन्त्रीमा मेघराज खड्का ६३५ र नरनारायण शाह मनु ६४८ मत पाएर निर्वाचित भएको कांग्रेसले जनाएको छ।
सहमहामन्त्रीमा चिन्तामणी भट्ट ५३३, गोपाल दत्त भट्ट ५२९ र अम्बिका कुमारी चलाउनेले ६८६ ल्याएर निर्वाचित भएका थिए।
प्रदेश २ मा अझै अन्यौल:
प्रदेश नम्बर २ मा भने उद्घाटनपछि निर्वाचनको प्रक्रिया नै अगाडि बढेको छैन। केही जिल्लामा वडा र पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रकै अधिवेशन नसकिएकोले प्रदेश अधिवेशन अगाडि नबढेको हो।
प्रदेश अधिवेशनका लागि प्रदेश सभा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि र प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जाने व्यवस्था छ। प्रदेश, प्रतिनिधि सभा क्षेत्रका प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।
प्रदेश २ मा सर्लाही, सप्तरी र रौतहटबाट मतदाता नामावली नै नआएकोले प्रदेश अधिवेशन अगाडि बढाउन नसकिएको निर्वाचन समितिले जनाएको छ।
सर्लाहीका १० वडामा वडा अधिवेशन नै सुरू भएको छैन। क्रियाशील सदस्यता फारम वितरणदेखि नै यहाँ सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद थियो।
सर्लाहीको चार वटै निर्वाचन क्षेत्रलगायत १० वडाको अधिवेशनसमेत अन्यौलमा छ। वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि गएपछि तिनीहरूले पालिका अधिवेशनमा भाग लिने व्यवस्था छ भने उनीहरू नै प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका पनि मतदाता हुन्छन्। वडा अधिवेशन नै नभएपछि माथिल्लो तहको अधिवेशन रोकिएको हो।
विवादित जिल्लाबाट मतदाता नामावली प्राप्त नभएकोले नै प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउन नसकिएको कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले बताए।
केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सभापति शेरबहादुर देउवाकै दबाबमा सर्लाहीमा वडा अधिवेशन नभएको आरोपसमेत लगाएका छन्। आफ्नो पक्षले जित्ने गरी अधिवेशन गराउन सभापति देउवाले हस्तक्षेप गरिरहेको सिंह दाबी गर्छन्।
यस्तै बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ मा अधिवेशन बाँकी हुँदा प्रदेश अधिवेशन अगाडि बढाउन नसकिएको हो।
महोत्तरीको क्षेत्र नम्बर ३ मा एक पक्षले अधिवेशन सम्पन्न भएर सम्पूर्ण कार्यसमिति चयन गरिसकेको छ तर निर्वाचन समितिले त्यो अधिवेशनलाई मान्यता दिएको छैन। उपसभापति निधि र वरिष्ठ नेता पौडेल प्यानलबीच विवाद हुँदा यहाँ झडपसमेत भएका थिए।
प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन पनि हुन सकेको छैन। केन्द्रीय महाधिवेशनपछि अब जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारी छ।
को-को छन् प्रदेश सभापतिका आकांक्षी?
प्रदेश २ मा प्रदेश सभापति पदका लागि संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी उपसभापति निधि पक्षका हुन्।
यस्तै रौतहटका जिल्ला सभापति कृष्ण यादव, सप्तरीका नेता रञ्जित कर्ण र अमेरिकाका लागि पूर्वराजदूत सुरेशराज चालिसेले प्रदेश २ सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
यसअघि सभापति उठ्ने घोषणा गरेका महोत्तरीका जिल्ला सभापति महेन्द्र राय र सप्तरीका दिनेश यादवले देउवा पक्षका नेता कृष्ण यादवलाई समर्थन गर्ने बताएका छन्।
प्रदेश २ मा ढिलाइ किन?
प्रदेश नम्बर २ मा यसपछि अर्को विवाद झिकेर अधिवेशन हुन सकेको छैन। उपसभापति विजयकुमार गच्छदार पक्षबाट आएका नेता तथा कार्यकर्तालाई समायोजन गर्न र क्रियाशील सदस्यता वितरणसम्म देखिएका विवाद समाधान गर्न कांग्रेसले झन्डै वर्ष लगाएको थियो।
गुटको विवादले हवाइफायर र झडपसमेत हुने गरेका छन्। सबैभन्दा धेरै विवाद सर्लाहीमा छ। यसअघि पठाएका तीन निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्दा केन्द्रीय निर्वाचन समितिले मंसिर १७ मा चौथो निर्वाचन अधिकृत खटाएको थियो। अहिले निर्वाचन गराउन अरूण ज्ञवालीलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ।
सर्लाहीमा वडा र प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन सकेको छैन।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापति उठ्ने भनेको दिनदेखि प्रदेश २ मा अनेक विवाद झिकेर समयमै अधिवेशन गर्न नदिइएको दाबी गरेका छन्।
‘यो कुरा भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन! तर म सभापति उठ्ने भनेकै बेलादेखि चौतर्फी आक्रमण भयो प्रदेश नम्बर २ मा। त्यो मलाई नै कमजोर पार्न भएको हो भन्ने लाग्छ। ढिलो गरी अधिवेशन भइरहेका छन्, यो राम्रो होइन। अब ढिलो गर्नु हुन्न, वडादेखि अधिवेशन गर्नुपर्छ। महाधिवेशन प्रतिनिधिहरू पनि छिटो आउने वातावरण तयार गर्नुपर्छ,’ सभापतिमा उम्मेवारी दिने बताएका निधिले प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा भनेका थिए।
कांग्रेसका प्रदेश कार्यसमितिलाई के छन् अधिकार?
कांग्रेसका प्रदेश कार्यसमितिले मुख्यतया समन्वयको काम गर्छ। प्रदेश भित्रका जिल्ला, प्रतिनिधि सभा, प्रदेश सभा, पालिका र वडा कार्यसमितिबीच समन्वय गर्दै पार्टी हितमा आवश्यक सहयोग र निर्देशन दिने काम प्रदेश कार्यसमितिको हो।
संघीय संसद, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा समन्वय र निर्देशन दिने काम पनि प्रदेश कार्यसमितिलाई छ। क्रियाशील सदस्यको अभिलेख र नवीकरणको गरी केन्द्रमा पठाउने काम प्रदेशको हो।
कम्तिमा वर्षमा एकपटक प्रदेश सम्मेलनसमेत गर्नुपर्ने विधानले व्यवस्था गरेको छ। उम्मेदवारको नाम सिफारिस र आवश्यकता अनुसार निर्णय गर्ने अधिकार प्रदेश कार्यसमितिमा छ।