नेपाली कांग्रेसका युवा नेताहरूले संस्थापन इतर समूहबाट एउटै उम्मेदवारको नाम अघि सार्न सभापतिका आकांक्षीलाई दुई दिनको समय दिएका छन्। यसबीच उनीहरूले साझा उम्मेदवार बनाउन नसके आफूहरूले चारमध्ये एक जनालाई छान्ने र त्यो मान्नुपर्ने उनीहरूको भनाइ छ।
यही मंसिर २४ देखि हुने महाधिवेशनको नेतृत्व चयनमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि सभापतिका आकांक्षी छन् भने संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्। यी चार जनाबाट एक मात्र उम्मेदवार छान्नुपर्ने युवा नेताहरूको चर्को दवाब छ।
सभापतिका आकांक्षी शेखर कोइरालाले आयोजना गरेको मूलधारका सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा नेता गगन थापाले एउटा सभापति र एउटै प्यानल बनाएर अघि बढ्नुपर्ने अवस्था भएकाले साझा उम्मेदवार छान्न नेताहरूलाई अनुरोध गरेको जानकारी दिए।
'हामीले चुनाव जित्ने हो भने हाम्रा मतदाता कति छन् हिसाब गर्नुपर्छ। हामीले जित्ने-नजित्ने मुख्य आधार त्यही हो। एक भयौं भने हामी जित्न सक्छौं। त्यसैले आकांक्षीमध्येबाट एउटा नेता बनाउनैपर्छ। त्यहाँभित्र यो भइदिए हुन्थ्यो, ऊ भइदिए हुन्थ्यो भन्ने आ-आफ्नो मत छ तर अहिले आफ्ना मत सेकेन्डरी भए। नेतृत्व परिवर्तनको भावना र हिसाबको तथ्यलाई मध्यनजर गरेर राम्रो र गहिरो संवादबाट साझा उम्मेदवार आउनुपर्यो भन्ने छ,' उनले भने, 'तपाईंहरूले निष्कर्ष निकाल्न नसकेपछि यो सेटमा गएर लड्नुपर्छ र तपाईंमध्ये हामीलाई यो उम्मेदवार सजिलो हुन्छ भन्छौं। सकेसम्म त्यो अवस्था नआओस् भन्ने छ।'
उनका अनुसार त्यसका लागि २३ गतेसम्मको समय दिइएको छ।
उनले अगाडि भने, 'हामीले नै भन्नुपर्ने अवस्था आयो भने के गर्ने भनेर हामी प्रशस्त गृहकार्य गरिरहेका छौं। तलबाट नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सोच राखेर आएका साथीहरूको मत तितरबितर नहोस् भन्ने छ। उहाँहरूले दुई वा त्योभन्दा बढी उम्मेदवार हुने तय गरे त हिसाबले हामीलाई साथ दिँदैन।
'आज २० गते भइसक्यो। २४ गते उद्घाटन छ, त्यो बेलासम्म हामीसँग हाम्रो सभापति को भन्ने उत्तर हुनैपर्छ। हामीसँग २३ गतेभन्दा उता जाने समय छैन। त्यसैले हामीसँग दुई दिनभन्दा बढी समय छँदै छैन,' उनले भने।
थापाका अनुसार सभापतिको साझा उम्मेदवार बनाउन आकांक्षीहरूलाई नै समय दिएर अहिले युवा नेताहरूले एउटा प्यानल बनाउन गृहकार्य गरिरहेका छन्। उनीहरूले नै पदाधिकारीमा क-कसलाई उम्मेदवार बनाउने भनेर तय गर्ने छन्।
अर्का नेता चन्द्र भण्डारीले पनि नेताहरू नमिले आफूहरूले टिम बनाउने बताए। उनले निरन्तरको छलफलपछि सभापतिका लागि आठ जनाबाट चार आकांक्षीमा झरेको र अहिले त दुई जनामात्रै रहेको पनि बताए।
'अहिले भन्ने हो भने चार जना पनि हुनुहुन्न। दुई जना मिलिसक्नुभयो भन्दा हुन्छ। अब दुई जना मिल्न बाँकी छ,' उनले भने, 'हामीले यता जिल्ला सभापतिहरू र प्रतिनिधिहरूसँग सँगसँगै कुरा गरिरहेका छौं। उनीहरू सबैको मत बुझेर टिम बनाउँछौं। त्यो नेताहरूले मान्नुपर्छ भन्ने छ।'
शेखर कोइरालाले भने आफूले सभापति नछाड्ने बताए। तर जिल्ला सभापति र युवा नेताहरूले 'तिमीले हिसाबमा जित्दैनौ, त्यसैले नलड' भनेर आए छोड्दिने उनको भनाइ थियो।
कोइराला परिवारबाट आफूलाई शशांकले सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गरे।
'हामीले साँझ, बिहान, दिउँसो निरन्तर छलफल गरिरहेका छौं। पहिले त सात-आठ जना आकांक्षी थियौं तर विस्तारै कुरा मिल्दैछ,' उनले भने, 'हाम्रो टिममा युवा साथीहरू हुनुहुन्छ, समावेशी पनि हुन्छ।'
कोइरालाले गरेको सम्पादकहरूसँगको भेटघाटमा गगन थापा, सरिता प्रसाईं, चन्द्र भण्डारी, धनराज गुरूङ, बद्री पाण्डे र दीपक गिरी पनि उपस्थित थिए।
सभापतिको साझा उम्मेदवार छान्न अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा संस्थापन इतर समूहको बैठक बस्दैछ।