चितवनमा मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्दा मतपरिणाम दुई/तीन घण्टाभित्रै सार्वजनिक भयो।
१०० विद्युतीय भोटिङ मेसिनमध्ये महाधिवेशनमा ९० उपकरणका प्रयोग गरियो भने ४८ पदका लागि मतदान भएको थियो।
विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्दा पार्टी निर्वाचन आयोगले मत्रपत्र छाप्न परेन भने एमाले महाधिवेशन प्रतिनिधिले भिन्नभिन्न मतपत्र बोकेर मतदान गर्नुपर्ने झन्झटबाट मुक्ति पाए।
एमालेले महाधिवेशनमा सफल यो अभ्यासलाई राप्रपाले गत शनिबार काठमाडौंको भृकुटीमण्डपमा चलेको महाधिवेशनमा प्रयोगमा ल्यायो, अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय भोटिङ मेसिनमै मतदानको व्यवस्था गरिएको थियो।
एक सय वटा विद्युतीय भोटिङ मेसिनमध्ये ९१ वटा प्रयोग गरिएका थिए। यो विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्न समय कम लाग्छ भने मतपरिणाम पनि छिटो आउँछ। एक महाधिवेशन प्रतिनिधिले १५/२० मिनेटमै मतदान गरिसक्छन्।
नेपाली कांग्रेसले यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमै महाधिवेशन गर्दैछ। २९ मतपत्र हुने भएकोले एक जना महाधिवेशन प्रतिनिधिलाई कम्तीमा ४५ मिनेट मतदान गर्न नै समय लाग्ने कांग्रेसकै नेताहरू बताउँछन्।
कागजी मतपत्र छाडेर विद्युतीय भोटिङ मेसिन प्रयोगमा जानेबारे कांग्रेसले अझै निर्णय गरेको छैन।
कांग्रेसमा सभापतिसहित १४ जना पदाधिकारी हुन्छन्। १६७ मध्ये १३५ केन्द्रीय सदस्य निर्वाचनबाट आउँछन्। यी पदमा मतदान गर्ने करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि हुन्छन्।
कांग्रेसले मतदानका लागि तीन ठाउँ तय गरेको छ- भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लव। कांग्रेसले सभापतिसहित पदाधिकारीबाहेक पदमा भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सकिनेबारे छलफल भने सुरूवात गरेको छ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने सुझाव राखेका छन्।
महाधिवेशन तयारीबारे भइरहेका गतिविधि बुझ्न सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवालाई संयोजक घिमिरेले बरू पदाधिकारीबाहेक पदमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न आग्रह गरेका थिए।
‘मतपत्र छपाइदेखि मतदान र गणना गर्न पनि समय लाग्ने देखिएको छ। बरू विद्युतीय भोटिङ मेसिन प्रयोग गरौं,’ निर्वाचन समिति संयोजक घिमिरेले देउवासँग राखेको कुराबारे उद्धृत गर्दै एक नेता भन्छन्, ‘धेरै सजिलो हुन्छ। मतपरिणाम पनि छिटो आउँछ।’
विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देउवा सकरात्मक देखिएका छन्। तर निर्णय गर्नुअगाडि पार्टीका अरू नेताहरूसँग छलफल गर्नुपर्ने उनको भनाइ थियो। ‘यो प्रस्ताव ठिकै हो, यसबारे पछि पनि छलफल गरेर निर्णयमा पुगौला,’ सभापति देउवालाई उद्धृत गर्दै कांग्रेसका एक नेताले भने।
कांग्रेसले पार्टीलाई सूचना र प्रविधिमैत्री बनाइँदै लगेको दाबी गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागले पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न केन्द्रीय समितिमै प्रस्ताव गरेको थियो। तर त्यसबेला यो विषयमा नेताहरूले छलफल गर्न आवश्यक पनि ठानेनन्।
प्रवक्ता विश्वप्रकाश शर्मा महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमा जानु उपयुक्त हुन्छ भन्ने विषय पार्टीभित्र छलफलमा आएको बताउँछन्।
‘केन्द्रीय निर्वाचन समितिका संयोजक र प्रचार विभागले पनि महाधिवेशनमा भोटिङ मेसिन प्रयोग गर्नुपर्छ भन्ने प्रस्ताव राखेको छ,’ शर्माले भने, ‘सभापति र पदाधिकारीकै हकमा कागजकै मतपत्र प्रयोग गरौं र अन्यको हकमा भोटिङ मेसिनलाई प्रयोग गरौं भनिएको छ।’
विद्युतीय भोटिङ मेसिनमा नगए कांग्रेस महाधिवेशनमा २९ मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। पहिले सभापति, त्यसपछि क्रमश: उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका मतपत्र लिएर महाधिवेशन प्रतिनिधिले मतदान गर्नुपर्नेछ।
कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १३५ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ भने एक कोषाध्यक्ष र ३३ केन्द्रीय सदस्य पछि सभापतिले मनोनित गर्नेछन्।
‘मत व्यक्त गर्न २९३ वटा ठाउँ व्यवस्था गरिएको छ। मत खसाल्न हालसम्म एक हजार वटा बाकस व्यवस्थापन गरिएको छ,’ शर्माले भने। कांग्रेसले व्यवस्थित रूपमा महाधिवेशन गर्ने बताएको छ। सालिन ढंगले महाधिवेशन गर्ने र शक्ति प्रदर्शन नगर्ने पनि कांग्रेसले बताएको छ।