नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिन बाँकी हुँदा सभापति शेरबहादुर देउवा र उनीइतर समूहका नेताहरूले आफ्नो पक्षका उम्मेदवार छान्ने छलफललाई तीव्रता दिएका छन्।
बुधबार बिहान देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका छुट्टाछुट्टै बैठक भइरहेका छन्।
नेता पौडेल पक्षले अहिलेसम्म सभापतिको उम्मेदवार छान्न सकेको छैन। सोमबार र मंगलबार उक्त समूहबाट सभापतिका आकांक्षी रहेका पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाबीच लामो छलफल भए पनि साझा उम्मेदवार टुंग्याउन सकस परिरहेको छ।
सभापतिको उम्मेदवार छान्ने विषयमा वरिष्ठ नेता पौडेलले अहिले आफूनिकट नेता कार्यकर्तासँग छलफल गरिरहेका छन्।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेलका पक्षका जिल्ला सभापतिहरू, काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सभापतिहरूसँग पौडेलले छलफल गरिरहेका छन्। यो छलफलमा सभापति अरू तीन आकांक्षी सहभागी छैनन्। चारमध्ये महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफूले दाबी छोड्ने बताइसकेका छन्।
पौडेल पक्षले आज साँझसम्ममा साझा उम्मेदवार टुंगो लगाउने बताएको छ।
उता सभापति देउवालाई भने पदाधिकारीमा क-कसलाई उम्मेदवार बनाउने भन्ने सकस छ।
पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारबारे छलफल गर्न देउवाले पनि अहिले आफ्नो समूहका नेताहरूसँग छलफल गरिरहेका छन्।
देउवा निवास बुढानिलकण्ठमा भइरहेको छलफलमा उनी पक्षीय नेताहरू सहभागी छन्। केही समय अघिसम्म देउवासँगै रहेका र अहिले सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि भने बुढानिलकण्ठ गएका छैनन्।
निधिले आफूलाई बैठकको खबर नै नआएकाले नगएको बताएका छन्।
‘संस्थापनबाट देउवाले मेरो नाम काटिसक्नुभयो,’ निधिले भने।
देउवाको समूहमा अहिले रहेकाहरूले सभापतिमा उनलाई कसैले चुनौती दिएको छैन तर पदाधिकारीमा भने आकांक्षीको व्यवस्थापन गर्न उनलाई हम्मेहम्मे छ। प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
उपसभापतिमा विजयकुमार गच्छदार दोहोरिन चाहेका छन्। लोकतान्त्रिक फोरमलाई कांग्रेससँग मिलाएपछि उनी उपसभापति मनोनित भएका थिए। उनलाई विधान नै संशोधन गरेर त्यसबेला उपसभापति बनाइएको थियो।
साथै महामन्त्री पूर्णबहादुर खड्का पनि उपसभापतिका आकांक्षी छन्। महामन्त्री पदमा सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र रमेश लेखक आकांक्षी छन्।
खाणले आफू जुन पदमा भए पनि खासै ठूलो असर नपर्ने बरू सभापतिमा फेरि देउवालाई नै जिताउनुपर्ने तर्क अगाडि सारेका छन्। उनीमाथि गृहजिल्ला रूपन्देहीमा पार्टीका अधिवेशनहरूमा आफूनिकट नेतालाई जिताउन नसकेको आरोप छ। खाणले प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्ने तर्क गरिरहेका छन्।
आकांक्षी व्यवस्थापन गर्न नसके अर्को समूहमा जान सक्ने खतरासमेत देखिएकोले देउवा सचेत ढंगले अगाडि बढिरहेको उनी निकट एक नेताले दाबी गरे।