नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका सभापतिका आकांक्षी र केन्द्रीय सदस्यसहितको बैठकले बुधबार पनि सर्वसम्मत उम्मेदवार छान्न सकेन।
केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह र शेखर कोइरालाबीच को सभापति उम्मेवार हुने भन्नेबारे टुंगिन नसक्दा निर्णय नभएको हो।
सभापतिका आकांक्षीहरूले उम्मेदवार छान्न नसकेपछि युवा केन्द्रीय सदस्यहरूले हस्तक्षेप गर्ने भएका छन्।
केन्द्रीय सदस्य गुरूराज घिमिरेले सर्वसम्मत उम्मेदवार तय गर्न सभापतिका आकांक्षीहरूबाहेक पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बिहीबार बिहान बोलाइएको बताए।
उक्त बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ।
‘उहाँहरूले सर्वसम्मत सभापतिको उम्मेदवार छान्न सक्नुभएन, समय पनि लगाउनुभयो,’ उनले भने, ‘हामी बिहीबार बिहान केन्द्रीय सदस्यहरू बैठक बसेर सभापतिको उम्मेदवार र उम्मेदवार हुने आधारसहित नेताहरूलाई नाम बुझाउँछौं।’
सिंह निवास चाक्सीबारीमा बुधबार करिब ४ घण्टा लामो छलफल भए पनि बैठक भने बिनानिष्कर्ष टुंगिएको हो।
सर्वम्मतिका लागि पौडेल र शंशाक कोइरालाले दाबी छाडिसकेका छन्। तर सिंह र शेखर कोइरालाबीच भने आफू नै उम्मेदवार बन्ने दाबीले सर्वसम्मत उम्मेदवार चयन हुन ढिलाइ भइरहेको छ।