काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन भएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन्।
काठमाडौं कांग्रेसका सभापति सबुजकृष्ण बानियाँले महाधिवेशनमा आएका पाहुना र प्रतिनिधिलाई स्वागत गरेका थिए।
त्यसअघि सभापति देउवासहित कांग्रेसका शीर्ष नेताहरूले अग्रज नेताको तस्बिरमा माल्यार्पण गरेका थिए।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै महाधिवेशनको द्धीप बालेर उद्घाटन गरेका हुन्। महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समूदायलाई प्रतिनिधित्व गर्दै साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भएका छन् ।
महाधिवेशनमा करिव ४ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन ।
महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रिय सदस्य मनोनित हुनेछन्।
कांग्रेस केन्द्रिय कार्य समितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रिय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।
महाधिवेशनमा सभापतिका लागि प्रधानमन्त्री देउवाले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट भनेअझै सभापतिको उम्मेदवार तय हुन सकेको छैन।
वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह र केन्द्रिय सदस्य डा. शेखर कोईरालाले आ–आफ्नै दावी नछाडेपछि संस्थापन इतर पक्षले अझै सभापतिको साझा उम्मेदवार तय गर्न नसकेको हो।
यसैबीच, नेपाली काँग्रेसको महाधिवेशन स्थलमा पार्टी पदाधिकारी र केन्द्रिय सदस्यका आकांक्षीहरुले आ–आफ्नो प्रचार अभियानलाई पनि तीब्रता दिईरहेका छन्।
उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ। कोभिड-१९ महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए।
सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।
महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रूख अङ्कित झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ।