नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन्।
भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको भन्दै खुसी लागेको बताएका थिए।
त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन रहेको बताएका हुन्।‘
यी सबै पूर्व प्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति हुन्। हामी एक अर्कालाई हातेमालो गरेर देशविकास गर्न पछि पर्दैनौं’, उनले भने।
भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनलाई जवाफ दिँदै उनले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ। सायद उहाँले सुन्नुहुन्छ होला।’
उनले आफूहरूसँग आपसमा प्रतिस्पर्धा भए पनि जरूरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको संस्कार समेत रहेको स्पष्ट पारे।
अध्यक्ष दाहालले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिएको बताएका छन्।
‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन) ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ।’
आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने उनले बताए।
सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैंले अनुभव गरेको भन्दै प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धिमाथि खतरा बढेर गएको जिकिर गरे।
शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए।
अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिए। नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गरे। उनले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गरे।