नेपाली कांग्रेसकझ १४ औं महाधिवेशन आजदेखि सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताले मन्तव्य राखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले मन्तव्य राखेका हुन्।
अहिले पनि उद्घाटन सत्र चलिरहेको छ।
कुन नेताले के भने?
गाउँमा कार्यक्रम हुँदा नेता होइन, कुन चोर आए भन्छन्: राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आम जनताको नजरमा नेताहरूले विश्वास गुमाएको अवस्था आएको बताएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन्।
अहिले गाउँ-गाउँमा कार्यक्रम हुँदा कुन नेता आउने भन्दा पनि कुन चाहिँ चोर आएछ भन्ने अवस्था आएको उनले बताए।
‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। गाउँमा कुनै कार्यक्रम हुँदा नेता आउँदै हुनुहुन्छ भन्दाखेरी कुन नेता होइन कुन चाहिँ चोर आएछ भन्ने अवस्था छ’, उनले भने।
त्यसैले नेताहरूले महाधिवेशन वैधानिकतामात्र नभएर छवि सुधार्न पहल गर्नुपर्ने उनले सुझाए।
देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा दीपबाट बाहिर गएको देेखिएको भन्दै जनताको विश्वास जित्नमा अग्रसर हुनुपर्नेमा उनको जोड छ।
‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा दीपबाट बाहिर गएको देेखिन्छ। संसद संसदजस्तो छैन अदालत जस्तो छैन।’
न्यायपालिकासँग भागबण्डा गरेर देश चलेको छ: सीपी मैनाली
नेकपा मालेका महासचिव सीपी मैनालीले न्यायपालिकामा भागबण्डा गरेर शासन गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मैनालीले अहिले न्यायपालिकामा भागबण्डा गरेर शासन चलाएको आरोप लगाए।
उनले संसदीय व्यवस्था पटक–पटक असफल भएको भन्दै सुधारेर ल्याएको संसदीय व्यवस्थालाई सुध्रिएजस्तो बनाउनुपर्ने धारणा राखे।
सभामुखले न्याय दिएनन् भनेर प्रतिपक्षी दलले संसद अवरूद्ध गरेको भन्दै मैनालीले यो अवस्थामा मुलुकलाई निकास दिन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।
नेता मैनालीले नेपालमा व्यवस्था धेरै परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन नभएको जिकिर गरे।
उनले नेपालको परिवर्तनसँगै बाह्य अवाञ्छित हस्तक्षेप र प्रभाव यथावत रहेको बताए।
मैनालीले राष्ट्रियताको कुरा गर्ने राजनीतिका दलको यसतर्फ ध्यान नगएको भन्दै चिन्ता व्यक्त गरे। नेपालमा प्राप्त हरेक अधिकार बाह्य हस्तक्षेपको कारण गुमेको उनले बताए।
दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैन: महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहेको बताएका छन्।
राजधानीमा जारी कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै अध्यक्ष ठाकुरले सरकार बनाउन दल स्थिर नभएको परिणामस्वरूप सरकार पनि स्थिर नरहेको बताएका हुन्।
उनले संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने बताए।
राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेको भन्दै उनले उनीहरूलाई रिहाई गर्नुपर्ने बताए।
राजाले पनि नयाँ पार्टी खोले हुन्छ, होइन भने व्यापार गरे हुन्छ: माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
‘राजाले नयाँ पार्टी खोले हुन्छ, व्यापार/व्यवसाय गरे हुन्छ। अब राजतन्त्रको कुनै सम्भावना छैन’, नेता नेपालले भने।
उनले राजनीतिक दलले नै समृद्धिको यात्रा अगाडि बढाउने भन्दै पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्ने बताए।
उनले प्रतिगामी तत्वलाई फेरि शिर उठाउने दुस्साहस नगर्न समेत चेतावनी दिए।
‘भ्रष्टाचार, मैमत्त हुने स्वभाव, अरूको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति हो’, उनले भने।
उनले दोस्रो जनआन्दोलनमा कांग्रेससँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गरे।
नेता नेपालले देशको राजनीतिमा कालो बादल मडारिएकोसमेत बताए।
‘सावधान ! देशमा कालो मादल मडारिएको छ,’ उनले भने।
राष्ट्रियताको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए।
एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरूपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोपसमेत लगाए।
नेता नेपालले सत्ता र शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए।
नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नुपर्ने बताएका छन्।
जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नुपर्ने उनले बताए।
उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए।
नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ -प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन्।
भारतीय जनता पार्टीका नेता हर्षवर्द्धले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको भन्दै खुसी लागेको बताएका थिए।
त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन रहेको बताएका हुन्।
‘यी सबै पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति हुन्। हामी एक अर्कालाई हातेमालो गरेर देश विकास गर्न पछि पर्दैनौं’, उनले भने।
भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनलाई जवाफ दिँदै उनले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्वप्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थें। सायद उहाँले सुन्नुहुन्छ होला।’
उनले आफूहरूसँग आपसमा प्रतिस्पर्धा भए पनि जरूरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको संस्कार समेत रहेको स्पष्ट पारे।
अध्यक्ष दाहालले राजनीतिक दल र तिनका नेताहरूलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिएको बताएका छन्।
‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन) ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ।’
आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने उनले बताए।
सत्तामा पुगेपछि नेताहरूमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैंले अनुभव गरेको भन्दै प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धिमाथि खतरा बढेर गएको जिकिर गरे।
शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए।
अध्यक्ष दाहालले राजनीतिक दलहरूलाई एक्लै नहिँड्न पनि सुझाव दिए।
नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले एक्लै हिँड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गरे।
उनले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गरे।
कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ: ओली
नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन्।
काठमाडौंमा आजदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन्।
उनले देश बनाउन विषयमा कांग्रेससँग एमाले एक रहने बताए।
'मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ,' उनले भने।
अध्यक्ष ओलीले कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझावसमेत दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह गरे।
उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरूको एजेण्डा बोकेर हिँड्न छाड्नुपर्छ। आफ्नो एजेण्डा लिएर अघि बढोस्।’