नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
पार्टीको १४ औं महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको भन्दै परिवर्तन जरूरी रहेको प्रतिक्रिया दिए।
सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने उद्घोष गरे। उनले यसका लागि नेतृत्व बलियो हुनुपर्ने र पुस्तान्तरण अपरिहार्य रहेको बताए।
उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी गर्दै देशभरबाट आएका नवप्रवेशी युवाले कांग्रेसको भविश्य देखाएको बताए।
'अब छोराछोरीहरूको पालो हो। युवाहरूको पालो हो। मैले हिजै भनिसकेको छु, आज पनि भन्छु- युवाहरूले पार्टीको नेतृत्व गर्नुहुनेछ,' सिटौलाले भने ।
उनले विभिन्न अभाव र संकटमा साथ दिएकालाई आफूले छोड्न नसक्नेसमेत दोहोर्याए।