नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सहमतिबाट पार्टीको नेतृत्व चुन्न आग्रह गरेका छन्। शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले सहमतीबाटै नेतृत्व चुन्न आग्रह गरे।
उनले भोलिबाट सुरू हुने निर्वाचनको प्रक्रियामा सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नयाँ नेतृत्व चयन गरी अधिवेशन सफल पार्न आग्रह गरे।
‘सकिन्छ भने म पार्टीका नेताहरूलाई साथीहरूलाई सर्वसहमतिबाट नेतृत्व चुन्न म आग्रह गर्छु । यदि सकिँदैन भने पनि स्वस्थ प्रतिस्पर्धामा जाऔँ,’ उनले भने।
विगत दुई दशकमा कांग्रेसले हिंसात्मक द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियाबाट शान्ति कायम भएको, संघीय लोकतान्त्रिक शासन व्यवस्था र नयाँ संविधान जस्ता तीन मुख्य उपलब्धी हाँसिल गरेको उनले बताए।
संविधानले लोकतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षतासहित ९ वटा परिवर्तनका सुत्र आएको बताउँदै अधिवेशनको माध्यमबाट बन्ने नेतृत्वले आगामी दिनमा हुने निर्वाचनमा पार्टीले तीन तहमा सफलता हाँसिल गरेर विगतमा प्राप्त उपलब्धी र संविधानको सफल कार्यान्वयन गर्न जरुरी भएको उनले बताए।
विगत साढे तीन वर्षको अवधिमा कांग्रेस सरकारमा नहुँदा देशका तीन वटै अंगहरु क्षतविक्षद भएको बताउँदै अब फेरि पनि संविधान र शासन व्यवस्थालाई सफल कार्यान्वयनमार्फत पुनः लिकमा ल्याउन पर्ने दायित्व कांग्रेसमा आएको बताए।
निधिले हिमाल, पहाड, तराई मधेस सबैलाई जोड्ने कांग्रेस मात्रै एक पार्टी भएको बताउँदै लोकतन्त्र र संविधानवादमा विश्वास नगर्ने निरंकुश शक्तिबाट सम्भव नहुने बताए।
यसअघि निधिले सर्वसम्मतिबाटै नेतृत्व टुङ्ग्याउने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति बनाउन प्रस्ताव गरेका थिए।
उनले यदि पौडेललाई सहमतिमा सभापति बनाउने हो भने आफू नेतृत्वको दौडबाट पछि हट्ने बताइसकेका छन्।