जारी कांग्रेसको १४ औं महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीले नमस्कार साटसाट गरेका छन्।
केही समयदेखि उनीहरूको सम्बन्ध 'तिक्ततापूर्ण' रहे पनि महाधिवेशनस्थलको यो दृश्य भने रोचक छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको थियो। पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा 'पानी बराबर'को स्थितिमा पुगेको थियो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध।
कानुनी रूपमा नेकपा छुटिएपछि यी दुई नेता सार्वजनिक रूपमा एक अर्काको आलोचनामा उत्रिएका थिए। उनीहरू एउटै सार्वजनिक कार्यक्रममा समेत देखा परेनन्।
गत मंसिर दोस्रो साता एमालेको दसौं महाधिवेशनमा राजनीतिक दलको हैसियतले माओवादी केन्द्रलाई निम्ता गरिए पनि प्रचण्ड आफू नगई लिलामणि पोखरेललाई पठाएका थिए।
तर आज भने उनीहरू एउटै मञ्चमा देखिएका छन्। उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनीहरूले एक अर्कालाई सम्बोधन गरेनन्। न नै एक अर्काप्रति वास्ता गरे। उनीहरूले एकमुस्ट रूपमै राजनीतिक दल भने।
सम्बोधनपछि प्रचण्डले देउवालाई नमस्कार गर्दै अब निस्कने बताए। त्यही क्रममा प्रचण्ड-ओलीबीच नमस्कार साटासाट भएको हो। देउवाकै आग्रहमा उनीहरूबीच नमस्कार साटासाट भएको बुझिएको छ।
सबै तस्बिर: निशा भण्डारी