नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई कटाक्ष गरेका छन्।
अध्यक्ष लिङ्देनले आफ्नो मन्तव्यमा भनेका थिए, ‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। गाउँमा कुनै कार्यक्रम हुँदा नेता आउँदै हुनुहुन्छ भन्दा कुन चाहिँ चोर आएछ भन्ने अवस्था छ।’
उनको यस्तो टिप्पणीप्रति आपत्ति जनाउँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले 'भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमान नै छाडिदिने खालको र नागरिकबाट कोही नेता हुन सक्दैन, हरेक नेता चोर हुन्छ भन्ने खालको अभिव्यक्ति आए पनि केही समयमै ठेगान लाग्ने' बताए।
लिङ्देनको भनाइप्रति व्यंग्य कस्दै अध्यक्ष ओलीले 'भर्खरभर्खर जन्मेको बाछो हिँडन नजान्ने तर बढी कुद्ने गरेको' टिप्पणी पनि गरे।
‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मिँदै यस्तो शासक भएर जन्मिन्छ भन्ने यस्ता निराधार सिद्धान्त, संयुक्तराष्ट्र संघको मान्यताभन्दा विपरीतका सिद्धान्त, खासगरी भन्ने हो भने नागरिक स्वाभिमानविपरीत सिद्धान्त, नागरिक स्वाभिमान नै छोडिदिने? अनि नागरिकबाट कोही नेता हुन सक्दैन, हरेक नेता चोर हुन्छ भन्ने यस्ता कुरा बोकेर हिँडने?' ओलीले आफ्नो मन्तव्यमा भने।
उनले अगाडि भने, ‘हुन त भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। भर्खर भर्खरको बाछो हिँडन जान्दैन, बढी कुद्छ क्या! नयाँनयाँ सभापति भा’को, अलिकति रापताप होला। अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ।’