नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी प्रदेश २ मा अन्तभन्दा ढिलो सुरू भयो।
दुई तीन महिना अघिदेखि नै वडा अधिवेशन सुरू भएको थियो। तर सक्रिय सदस्यता वितरण लगायतका विवाद उठेपछि तल्ला तहका अधिवेशन प्रदेश २ मा ढिलो सुरू भएको हो।
ढिलो भए पनि बुधबारसम्म ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये ३१ निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको छ।
प्रत्येक क्षेत्रबाट २५/२५ गरी ७७५ र समावेशीतर्फ विभिन्न समुदायबाट १० जना महाधिवेशन प्रतिनिधि चुनिए।
उनीहरू महाधिवेशनमा भाग लिनका लागि काठमाडौं गइसकेका छन्।
महोत्तरी क्षेत्र नम्बर ३ मा भने अधिवेशन हुन नसकेपछि त्यस क्षेत्रबाट महाधिवेशनमा प्रतिनिधित्व छैन। यहाँ प्रदेशको अधिवेशन पनि हुन पाएन।
कांग्रेसको बलियो पकड भएको प्रदेश २ मा यसअघिको महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा भएको थियो।
यसपालि भने देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधिले आफैं सभापति उठ्ने घोषणा गरे। त्यसपछि प्रदेश २ मा तीन समूहबीच प्रतिस्पर्धा देखियो।
प्रदेश २ उपसभापति निधिको गृह प्रदेश हो। देउवा समूहमा रहँदासम्म प्रदेश २ कांग्रेसभित्र निधिको एकक्षत्र राज मानिन्थ्यो। यसपालि भने यहाँ उनी पहिले जति शक्तिशाली देखिएनन्।
३१ वटा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमध्ये जम्मा दुई जना सभापति निधिको पक्षमा देखिन्छन्। प्रदेश २ मा देउवा समूहकै वर्चस्व देखिएको छ।
पर्सा जिल्लाको चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा देउवा पक्षबाट सभापति चुनिएका छन् भने एउटा क्षेत्रमा निधि निकटका सभापति चयन भएका छन्।
क्षेत्र नम्बर २ का मो.शाहबुद्धिन, ३ का कृष्ण चौहान र ४ का श्रीकान्त यादव देउवा पक्षका क्षेत्रीय सभापति रहेका छन्। क्षेत्र नम्बर १ सभापति अरबन्दी गुप्ता निधिनिकट हुन्।
बारा जिल्लाको चार वटै निर्वाचन क्षेत्रका सभापति देउवा समूहकै नेता चुनिएका छन्।
क्षेत्र नम्बर १ बाट विजयशंकर यादव, २ नम्बर क्षेत्रबाट रामप्रवेश यादव, क्षेत्र नम्बर ३ बाट प्रभात कुमार चौरसिया र क्षेत्र नम्बर ४ बाट सुनिल कुमार गुप्ता क्षेत्रीय सभापतिमा चुनिएका छन्।
रौतहटमा पनि चार वटै निर्वाचन क्षेत्रमा चयन भएका क्षेत्रीय सभापति पनि देउवातिरै खुलेका छन्।
क्षेत्र नम्बर १ बाट श्रीराम यादव, २ बाट शेख फैजुल्लाह, ३ बाट शरतलाल गुप्ता र ४ बाट राम सनेही यादव क्षेत्रीय सभापति चुनिएका हु्न्।
सर्लाहीका चार वटा निर्वाचन क्षेत्रमध्ये दुई जना देउवा पक्षबाट क्षेत्रीय सभापतिमा विजयी भएका छन् भने दुई जना पौडेल पक्षका छन्।
क्षेत्र नम्बर १ का सभापति हरि लुंगेली र क्षेत्र नम्बर २ का सभापति कौशल किशोर राय पौडेलबाट विजयी भएका छन्। क्षेत्र नम्बर ३ बाट देउवा पक्षका पुन्य प्रसाद घिमिरे र ४ मा रामअश्रय साहले क्षेत्रीय सभापतिमा जितेका हुन् ।
त्यसैगरी महोत्तरीमा अधिवेशन सम्पन्न भएको तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा पौडेल समूहबाट सभापति चुनिएका छन् भने एउटामा देउवा पक्षबाट चयन भएका छन्।
क्षेत्र नम्बर १ मा महेश झा र क्षेत्र नम्बर २ का सभापति राजकरण साह पौडेल समूहबाट जितेका छन्। त्यसैगरी क्षेत्र नम्बर ४ मा उतिम प्रसाद यादव देउवा समूहबाट विजयी भएका हुन्।
क्षेत्र नम्बर ३ मा देउवा र पौडेल पक्षबीचको विवाद समाधान हुन नसक्दा अधिवेशन हुन सकेको छैन।
उपसभापति निधि आफ्नो गृह जिल्ला धनुषामा पनि कमजोर देखिएका छन्।
धनुषामा चार वटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा देउवा पक्षका दुई जना सभापति चुनिएका छन् भने १/१ वटा क्षेत्रमा पौडेल र निधि समूहका सभापति छन्।
क्षेत्र नम्बर १ मा देउवा पक्षबाट जित नरायण यादव र क्षेत्र नम्बर ४ का कुमरकान्त झा सभापति चयन भएका छन्।
त्यसैगरी क्षेत्र नम्बर २ बाट सभापति चुनिएका राजकिशोर सिंह पौडेल समूहका छन् भने क्षेत्र नम्बर ३ का सभापति धिरेन्द्र निधि विमलेन्द्र निधि समूहका छन्।
सिरहामा पनि दुई जना क्षेत्रीय सभापति देउवा पक्षकै छन्।
क्षेत्र नम्बर २ बाट विश्वमोहन यादव र ४ का सभापति सीताराम यादव देउवा समूहबाट सभापति चुनिएका हुन्।
क्षेत्र नम्बर १ का सभापति महेशप्रसाद चौधरी निधि पक्षका छन् भने क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादव पौडेल समूहका हुन्।
सप्तरीको चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रका सभापति समेत देउवा समूहमै खुलेका छन्।
क्षेत्र नम्बर १ का ललन गुप्ता, २ नम्बर क्षेत्रका महानन्द यादव, क्षेत्र नम्बर ३ का भुपेन्द्र यादव देउवा पक्षमा खुलेका छन् भने क्षेत्र नम्बर ४ का सितारमा साह पौडेल पक्षका क्षेत्रीय सभापति हुन्।
देउवा सत्तामा रहेकाले उनीतिरै धेरै नेताहरू गएको निधि पक्षका नेता प्रफुलराज घिमिरेको दाबी छ।
‘प्रदेशमा निधि जीको अहिले पनि राम्रै पडक हो। तर भय, डर, त्रास, प्रहरी/प्रशासन, पद पैसा र प्रलोभनले देउवातिर धेरै खुलेका हुन,’ उनले भने।
महाधिवेशनमा विजयी हुन देउवाले साम, दाम, दण्ड भेद सबै अस्त्र प्रयोग गरिरहेको उनले टिप्पणी गरे।