नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ-आफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन्।
सभापतिमा फेरि देउवा उठ्ने निश्चित भए पनि पदाधिकारी क-कसलाई उठाउने निर्णय हुन बाँकी रहेकोले छलफल गरिएको देउवा निकट स्रोतले सेतोपाटीलाई जानकारी दियो।
देउवासहित उनी निकट नेताहरू बालिवाटारस्थित प्रधानमन्त्री निवासमा छलफलमा जुटेका छन्।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्नेबारे पनि छलफल भइरहेको छ। सिटौलालाई एक सह-महामन्त्री दिएर जानेमा छलफल भएको एक नेताले बताए। तर सिटौला पक्षले एक महामन्त्रीमा प्रदीप पौडेललाई र एक सह-महामन्त्रीमा उमाकान्त चौधरीलाई प्यानलमै राखे मात्रै सहकार्य हुने बताइरहेको स्रोतको दाबी छ।
पदाधिकारीमा आकांक्षी धेरै भएकोले देउवालाई टिम एक राखेर उम्मेदवार टुंगोमा पुर्याउन सकस छ। महामन्त्रीका आकांक्षी धेरै नेता छन्। प्रकाशशरण महत, बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, एनपी साउद महामन्त्रीका आकांक्षी छन्।
एक महामन्त्री सिटौला पक्षलाई दिँदा आकांक्षी व्यवस्थापन गर्न देउवालाई झन् सकस हुने देखिन्छ।
सिटौलाले आफ्ना नेता व्यवस्थापन भए आफूले सभापति उम्मेदवारी नदिने संकेत गरेका छन्। उनी १३ औं महाधिवेशनमा सभापति उठेर दोस्रो चरणमा देउवालाई सभापतिमा समर्थन गरेका थिए।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार नै छान्न सकेको छैन। उम्मेदवार तय गर्न आज बिहान पौडेल निवास बोहराटारमा छलफल जारी छ। प्रकाशमान सिंह र शेखर कोइरालाले कसले कसलाई सभापति छाड्ने निर्णय गर्न नसक्दा सर्वसम्मत उम्मेदवार दिने पौडेल पक्षको सम्भावना कमजोर हुने देखिएको छ।
सिंहले आज बिहान १० बजे यलम्बर पार्टी प्यालेसमा कार्यक्रम गरेर सभापति उम्मेदवारी घोषणा गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ। सभापति नै तय नहुँदा महामन्त्रीलगायत उम्मेदवारको सूची बनेको छैन।
महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि अपरान्ह ५ बजेभित्र उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ।
भोलि इच्छुकलाई उम्मेदवारी फिर्ता लिने समय छ भने सोमबार बिहान ८ बजेबाट मतदान छ। काङ्ग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।
काङ्ग्रेसले कागजकै मतपत्रमा मतदानको व्यवस्था गरेको छ। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मत खसाउनुपर्छ। महाधिवेशनस्थल भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ।