नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा सुरू भएको छ।
पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
महाधिवेशनमा विभिन्न पदमा उठेका उम्मेदवारहरू बाजागाजासहित मनोनयन दर्ता गर्न पुगेका छन्।
अहिलेसम्म केन्द्रीय सदस्यमा ५० जनाभन्दा बढीको उम्मेदवारी दर्ता गरेका छन्। सभापतिमा केन्द्रीय सदस्य कल्याण गुरूङले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय सदस्य १३४ जना निर्वाचित हुने व्यवस्था छ।
देउवा र पौडेल पक्षले प्यानल बनाउन ढिलाइ गर्दा उम्मेदवारले मनोनयन दर्ता गर्न थालेका छन्।
आज ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ।
उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।
त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।
हेर्नुस् तस्बिरहरू: