नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
शनिबार मनोनयन दर्ताको दिन उनले सभापतिमा नउठ्ने घोषणा गरेका हुन्।
'पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु', उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु।’
चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै प्रजातन्त्रका मूल्य, मान्यता र आदेश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको उनले बताए।
उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरूद्ध भने लडिनै रहने प्रतिवद्धता व्यक्त गरेका छन्।