नेपाली कांग्रेसमा १३ औं महाधिवेशनका बेला बनेको गुट भत्किएर १४ औं महाधिवेशनका लागि नयाँ गुट बनेको छ।
आज उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म को कहाँबाट कुन पदमा उम्मेदवार बन्ने निश्चित नहुँदा सहमहामन्त्री र केन्द्रीय सदस्य पनि एक्लाएक्लै उम्मेदवारी दर्ता गरिरहेका थिए।
०७२ मा भएको १३ औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिमा प्रतिस्पर्धा गरेका थिए।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याउँदा दोस्रो चरणको चुनावमा सिटौलाले देउवालाई समर्थन गर्दा देउवा सभापति बनेका थिए।
करिब छ वर्ष देउवा, पौडेल र सिटौला गुटले निरन्तरता पायो। पार्टीदेखि सरकारमा विभिन्न पदमा भागबन्डा यिनै गुटबीच भए।
१४ औं महाधिवेशनमा आइपुग्दा भने पुराना गुट मक्किएर नयाँ गुट बनेका छन्।
कांग्रेस सभापति पदमा ६ जनाको उम्मेदवारी परे पनि मुख्य रूपमा चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा फेरि सभापति उठेका छन्। देउवासँग लामो समयदेखिको सहयात्री विमलेन्द्र निधि यसपटक साथमा छैनन्, निधि पनि सभापतिमा देउवाका प्रतिस्पर्धी छन्।
१३ औं महाधिवेशनका बेला देउवाले अर्को महाधिवेशनमा सभापति छाड्छु भन्ने वचन दिएको र अहिले त्यो वचन पूरा नगरेकोले आफू सभापति उठेको निधिले बताउने गरेका छन्।
देउवाले आफूसँगै रहेका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि साथै राख्न सकेनन्। शर्मालाई भन्दा देउवाले कृष्णप्रसाद सिटौलालाई नजिक ठानेकोले शर्माले त्यो टिमबाट `विद्रोह´गरेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि एकजुट रहेन। पाँच दिन लगाएर सभापतिमा सर्वसम्मत उम्मेदवार खोजे पनि अन्तत: यो समूहबाट सभापतिमा दुई जना उम्मेदवारले उम्मेदवारी दिएका छन्।
चार जना आकांक्षीबाट २ जनामा झरे पनि प्रकाशमान सिंह र शेखर कोइरालाले एकले अर्कोलाई सभापति नछाडेपछि दुबैले उम्मेदवारी दर्ता गराएका छन्, प्यानलसहित।
प्रकाशमानलाई उपसभापतिमा साथ दिन सुजाता कोइराला पुगिन् भने महामन्त्रीमा विश्वप्रकाश शर्मा छन्।
उपसभापतिमा उम्मेदवारी दिएका महेश आचार्य पनि यही समूहमा रहेको स्रोतको दाबी छ।
शेखरले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङलाई राखेका छन् भने महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठेका छन्।
यो समूहमा अधिकांश पौडेल समूहका नेता अटेका छन्। सभापतिमा यसपटक उम्मेदवारी नदिएका पौडेलले यो समूहलाई समर्थन गर्न सक्ने सम्भावना छ।
यसपटक देउवा र सिटौला समूह एकठाउँ उभिएको छ। ०७२ को १३ औं महाधिवेशनमा यो समूहबाट महामन्त्री उठेका गगन थापा हालै पौडेल समूहमा सक्रिय भएका थिए।
सिटौला यसपालि सभापति उठेनन्। आफूसँग रहेका नेताहरू प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई उनले सहमहामन्त्रीमा सेटल गराउन देउवासँग प्यानल बनाएका छन्।
पौडेललाई महामन्त्री दिएकोमा देउवा समूहमा असन्तुष्टि देखिए पनि यो सतहमा भने आएन।
बालकृष्ण खाण र एनपी साउद महामन्त्री आकांक्षी थिए तर प्रदीप पौडेललाई देउवाले एक महामन्त्री दिएपछि खाण र साउद केन्द्रीय सदस्यमा मात्रै उम्मेदवार छन्।
देउवा समूहबाट निस्किएका निधिले पनि उनको समुहबाट खासै केन्द्रीय नेता आफूसँग ल्याउन सकेनन्।
नेपाली कांग्रेसमा स्थापनादेखि नै रहेको गुट प्रतिस्पर्धा यसपटक झन् थपिएर गएको छ। गुटलाई भाग दिँदा गुट झन् मौलाउँदै गएको छ।