नेपाली कांग्रेसमा सभापतिसहित पदाधिकारीहरू र केन्द्रीय सदस्य गरी निर्वाचनबाट १३४ जना आउने व्यवस्था छ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री पनि निर्वाचनबाट आउने व्यवस्था छ।
निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ। यस्तै सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने व्यवस्था छ।
पदाधिकारी १३ जनाबाहेक १२१ जना केन्द्रीय सदस्यका लागि सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने चुनावी कार्यतालिका छ।
कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लवमा मतदान स्थल तोकेको छ। कांग्रेसले विद्युतीय भोटिङ मेसिनको प्रयोग नगरेर काजगी मतपत्र नै प्रयोग गर्ने भएको छ।
एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मत दिनुपर्ने हुन्छ। त्यसका लागि एक महाधिवेशन प्रतिनिधिलाई करिब एक घन्टासम्म पनि मतदानका लागि समय लाग्न सक्ने देखिन्छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।
कागजकै मतपत्र भएकोले मत खसाल्न समय लाग्ने र गणना गर्न पनि झन्झटिलो हुनेछ।
१४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारको मनोनयनमा ६ जनाले सभापति पदमा उम्मेदवारी दिएका छन्।
सभापतिमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा फेरि चुनावी मैदानमा छन्। यसपालि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिएनन्। आफू गुटको दलदलबाट बाहिर निस्कन चाहेको उनले बताइरहेका छन्।
सर्वसम्मत उम्मेदवार खोज्न पछिल्लो समय करिब एक सातासम्म पौडेलले पहल गरे पनि उनीनिकट रहेका दुई नेताले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्- प्यानलसहित।
यस्तै विमलेन्द्र निधि, कल्याण गुरूङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। मनोनयनपत्र फिर्ता लिने समय आज बिहान ११ बजेसम्म मात्रै छ।
दुई जना उपसभापतिका लागि पनि विभिन्न प्यानलबाट सात जनाले उम्मेदवारी दिएका छन्। देउवा पक्षबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिका उम्मेदवार छन्।
कोइराला पक्षबाट चन्द्र भण्डारी र धनराज गुरूङले उपसभापतिमा उम्मेदवारी दिँदा सिंह पक्षबाट सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दिइन्। यस्तै निधि पक्षबाट दिब्येश्वरी शाहले उपसभापतिमा उम्मेदवारी दिएकी छन्।
महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्। उनी कुनै पनि प्यानलमा परेका छैनन्। उनलाई प्यानलमा समेट्न राख्न सिंह पक्षले पहल गरिरहेको छ।
महामन्त्री पदमा युवा नेताहरू आमनेसामने हुने भएका छन्। कांग्रेस विधानअनुसार २ जना महामन्त्री निर्वाचनबाट आउने व्यवस्था छ।
देउवा पक्षबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मदेवार छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष र देउवाबीच चुनावी सहकार्य हुँदा एक महामन्त्री र एक सहमहामन्त्री उम्मेदवार सिटौला पक्षले पाएको छ। उनीहरू देउवा पक्षबाट प्यानलमै समेटिएका छन्।
पौडेललाई महामन्त्री दिँदा देउवा पक्षकै नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदले महामन्त्रीमा सिट पाएनन्। उनीहरू महामन्त्री उठ्ने बताइरहेका थिए। गृहमन्त्री खाण र सञ्चारमन्त्री कार्कीले मन्त्री छाड्न सक्ने तर महामन्त्री छाड्न नसक्ने बताएका थिए तर उनीहरूले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।
महामन्त्रीमा कोइराला पक्षबाट मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिए भने सिंह पक्षबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मदेवारी दिएका छन्। शर्मा देउवा पक्ष छाडेर सिंह पक्षमा सक्रिय भएका छन्। शर्मालाई महामन्त्री लड्न कोइराला, सिंह र निधिले 'निम्तो' दिएका थिए।
निधि पक्षबाट महामन्त्रीमा तरूण दलका पूर्वमहामन्त्री राजाराम कार्कीले उम्मेदवारी दिएका छन्। सिंह र निधिले दुईमध्ये एक महामन्त्रीमा मात्रै उम्मेदवारी दिएका छन्।
कांग्रेसले संघीय विधान बनाउँदा कलष्टरअनुसार ८ सहमहामन्त्री राख्ने निर्णय गरेको थियो। सोहीअनुसार ८ सहमहामन्त्री पदमा पनि फरकफरक प्यानलबाट गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्यानलमा नसमेटिएका नेताहरूले आफूखुसी पनि उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेस अनुशासन समिति संयोजकसमेत रहेका भीष्मराज आङ्दम्बेले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनी देउवानिकट हुन्। सहमहामन्त्रीमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, मानबहादुर विश्वकर्मा, किशोरसिंह राठौर, फरमुल्लाह मंसुर, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र उमाकान्त चौधरीले उम्मेदवारी दिएका छन्।
खानेपानी मन्त्रीसमेत रहेका चौधरी सिटौलानिकट हुन्।
यस्तै कोइराला पक्षबाट सहमहामन्त्रीमा कमला पन्त, बद्री पाण्डे, रामकृष्ण यादव, तेजुलाल चौधरी, जीवन परियार, विकास लामा, देवराज चालिसे, शेख वकिल रहेका छन्। अधिकांश वरिष्ठ नेता पौडेलनिकट नेताहरू सहमहामन्त्रीमा अटाएका छन्। पौडेलले औपचारिक रूपमा नखुलाए पनि कोइराला पक्षमा अटाएकाहरूलाई समर्थन गर्ने सम्भावना छ।
पूर्वसभासद रञ्जित कर्ण, नेता सुरेन्द्र चौधरी, गंगा सुनार र चेतराज बरालले सहमहामन्त्रीमा उम्मदेवारी दिए पनि उनीहरू कुनै पनि प्यानलमा परेका थिएनन्। कर्णलाई कोइराला पक्षले आफ्नो प्यानलमा ल्याउन पहल गरिरहेको स्रोतको दाबी छ।
कांग्रेसले केन्द्रीय सदस्यहरू समावेशी तवरबाट आउने बनाएको छ। प्रदेशबाट पनि ३ जनाका दरले २१ जना आउँछन्।
खुलातर्फ भने यसपालि ३५ जना निर्वाचित हुने व्यवस्था छ। १३ औं महाधिवेशनमा खुलातर्फ जम्मा २५ जना निर्वाचित हुने व्यवस्था थियो।
यसपालि खुलातर्फ १०९ जनाले उम्मेदवारी दिएका छन्। आफूखुसी उम्मेदवारी दर्ता गरेकालाई प्यानलमा समावेश गर्ने तयारीमा सभापतिका उम्मेदवारहरू लागेका छन्।
महिलातर्फ ९ केन्द्रीय सदस्य पदका लागि ३१ जना चुनावी मैदानमा छन् भने दलिततर्फ पनि ९ पदमा ३९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।
आदिवासी जनजातीतर्फ १५ पदमा ८७ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ भने १३ खसआर्यका लागि ९३ जना भिड्ने भएका छन्।
मधेशी समुदायतर्फ ९ केन्द्रीय सदस्यमा ३२ जना, थारू ४ पदमा १४ जना, मुश्लिम ३ पदमा १६ जना, पिछडिएको क्षेत्र १ पदका लागि २ जना, अल्पसंख्यक १ पदका लागि ६ जना र अपांगता भएका १ पदका लागि १६ जना चुनावी मैदानमा छन्।
प्रदेशबाट ३ जनाका दरले केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। त्यसमा एक महिला अनिवार्य हुनुपर्नेछ।
जसअनुसार प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमतीमा ९ जना, गण्डकीमा ७ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
पदाधिकारीबाहेक १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दिएका छन्।
हेर्नुस् को कुन पदमा उम्मेदवार?