नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारमाथि दाबी विरोध र अन्तिम नामावली प्रकाशन हुँदैछ।
सोमबार बिहान ८ बजेदेखि सभापतिसहित विभिन्न पदमा मतदान हुने भएपछि अहिले महाधिवेशनस्थलमा उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
तीमध्ये केहीले उम्मेदवारको प्रचार गर्ने र मत माग्ने नयाँ शैली अपनाएका छन्।
महाधिवेशन स्थलमा केन्द्रीय सदस्यका उम्मेदवार रवि सिंहलाई मत माग्न छाताको प्रयोग गरिएको छ। छाताको चारैतिर उनलाई मत मागिएको पोस्टर लगाएर मानिसहरू हिँडिरहेका छन्। राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापाका समर्थकले पनि उनलाई मत माग्न त्यही शैली अपनाएका छन्।
केन्द्रीय सदस्यका अर्का उम्मेदवार जिपछिरिङ लामाको त डमी नै बनाइएको छ। नेपाली कांग्रेसका सांसदसमेत रहेका लामा ठेकेदार हुन्।
केन्द्रीय सदस्यका उम्मेदवार गणेश सापकोटाले भने महाधिवेशन स्थलमा हटस्पटमार्फत् नि:शुल्क वाइफाई बाँडेका छन्।
उनका समर्थकहरूले उपस्थितलाई वाइफाई चलाउन पासवर्ड लेखिएको पर्चा बाँडिरहेका छन्।
हेर्नुस् तस्बिर: