नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हारे प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुने बताएका छन्।
आइतबार बिहान र दिउँसो भएका दुइटा कार्यक्रममा देउवाले आफू हार्नु भनेको प्रधानमन्त्री हार्नु भएको बताए।
आइतबार दिउँसो लैनचौरमा भएको आफू पक्षीय भेलालाई सम्बोधन गर्दै देउवाले आफूले हारे प्रधानमन्त्री बस्न मिल्दैन भनेर नैतिकताको प्रश्न उठ्ने बताए।
‘म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु। सभापतिमा हारें भने प्रधानमन्त्री हार्यो भन्छन्, नैतिकताको कुरा उठाउँछन्। यो सरकार चुनावसम्म चल्दैन,’ देउवाले भने,‘मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ। त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुन्छ।’
उनले पार्टीभित्र र बाहिरका साथीहरूको सहयोगबाट आफूले केपी शर्मा ओलीको डर, त्रासबाट देश र जनतालाई मुक्त गराएको दाबी गरे।
‘सार्वभौम जनता कसैसँग डराउनु हुँदैन। तर हिजो गाउँ-गाउँमा हाम्रा साथीहरू डराएका थिए। अहिले मैले ओलीको त्यो डर त्रासबाट मुक्त गराएको छु। यस्तै अवस्था रहिरहनका लागि पनि मैले सभापति जित्नु पर्छ,’ देउवाले भने।
उनले आफूलाई सहयोग गरेकोमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद दिए।