नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी-जनजाति, महिला र दलिततर्फ सहमहामन्त्रीमा क्रमश: भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र जीवन परियार निर्वाचित भएका छन्।
बिहीबार साँझबाट सुरू भएको मतगणना राति साढे १० बजे सकिएको थियो। अन्तिम परिणामअनुसार आङ्देम्बे, उपाध्याय र परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
आङ्देम्बे र उपाध्याय सभापति निर्वाचित शेरबहादुर देउवा समूहका हुन् भने परियार सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्।
अन्तिम मतपरिणाम अनुसार आदिवासी जनजातिमा आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन्। २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कोइराला समूहका लामाले १९१२ मत ल्याए।
उपाध्याय २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्।
यस्तै, दलिततर्फ जीवन परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका छन्।
परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए।
सहमहामन्त्रीमा कुल ४६७० मत खसेको थियो। त्यसमा स्वतन्त्र उम्मेदवार गंगा सुनारले २२९ मत ल्याइन्।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।