राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेसी क्लस्टरको सह-महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन्।
उनले शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पछि पार्दै आगामी चार वर्षका लागि निर्वाचित भएका हुन्।
उनले २०२६ मत ल्याएका छन् भने रामकृष्ण यादवले १८२० मत ल्याएका हुन्।
यसअघि मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जितेका हुन्।
मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाएका थिए।
कांग्रेसका आठ सहमहामन्त्रीमध्ये बिहिबार ३ क्लस्टरका सहमहामन्त्रीको टुंगो लागेको थियो। दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी/जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्।
परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् भने उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन्।
अब खस आर्य, थारू र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुन बाँकी छ।
खस आर्यको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन्।
थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छ। उमाकान्त देउवा समूहका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन्।
पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतनाथ बजाल उम्मेदवार छन्। शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।