नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन्।
महामन्त्रीमा निर्वाचित थापा र अर्का युवा नेता चन्द्र भण्डारी नेता निधिलाई भेट्न शनिबार साँझ ६ बजे निधि निवास मध्यबानेश्वर गएका थिए।
भेटमा यही पुस ६ गते हुने प्रदेश नं २ को अधिवेशन लगायतका विषयमा कुराकानी भएको थियो। नवनिर्वाचित महामन्त्री थापा र भण्डारीसँग निधिले प्रदेश नं २ को सभापति पदमा रामसरोज यादवलाई समर्थन गर्न अनुरोध गरेका थिए।
प्रदेश न.२ मा सर्वसम्मत रूपमै सभापति बनाउने अथवा साझा रूपमा उम्मेदवारी प्रस्तुत गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ।
निधि र थापाबीच आइतबार पुनः यसबारे छलफल गर्ने सहमति भएको छ।