नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्।
कुल ४६७९ मत खसेकोमा दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भएकी छन्।
त्यस्तै नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ चौथो स्थानमा अम्बिका बस्नेत २३३९, पाँचौंमा ईश्वरी न्यौपाने २२५९, छैठौंमा सरिता प्रसाईं २०९६, सातौंमा रमा कोइराला पौडेल १८५८ मतसहित विजयी भइन्।
सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भइन्।
नौ जना महिला केन्द्रीय सदस्यमा आठ जना सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी हुँदा शेखर कोइराला पक्षका एक जना मात्रै विजयी भएका छन्। विजयी भएकामध्ये सरिता मात्रै शेखर पक्षका उम्मेदवार हुन्।
यो समूहमा ३० जनाको उम्मेदवारी परेको थियो। मतगणना सकिएपछि निर्वाचन समितिले सोमबार राति अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो।