नेकपा (माओवादी केन्द्र) ले महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ।
अध्यक्ष मण्डलको चयनसँगै बन्द सत्रको कार्यक्रम सुरू भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो।
सुरूमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ। स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो।
अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी हुन्।
बन्द सत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुनेछ।
यस्तै, नेता देव गुरूङले विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम छ।