नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशबाट दल रावलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।
रावलले प्रदेश भुगोल खुला वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
‘प्रदेश र जिल्लाका साथीहरुसँग छलफल भइरहेको छ, छलफलबाट निस्किने निष्कर्षअनुसार पिछडिएको क्षेत्र वा प्रदेशको भूगोल खुलाबाट उम्मेदवारी दिन्छु,’ रावलले भने।
लगातार पछिल्ला दुई कार्यकाल हुम्ला जिल्लाको पार्टी अध्यक्ष रहेका रावल २०७४ को प्रदेश सभा निर्वाचनमा हुम्ला (क) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
कर्णालीलाई मुलधारको राजनीतिमा स्थापित गराउन, पार्टीभित्र पनि कर्णालीलाई मुलधारमा ल्याउन आफ्नो उम्मेदवारी सार्थक रहने रावलले बताए।
‘लामो समय पार्टीमा योग्दान गरेको नाताले पनि केन्द्रीय सदस्यमा मैंले साथ पाउने विश्वास छ, केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पनि पार्टीको समृद्ध राष्ट्र निर्माणको अभियानमा मेरो तर्फबाट पूर्ण रुपमा योग्दान हुनेछ,’ उनले भने।
रावलले तीन बर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री भएर काम गरिसकेका छन्। उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा पनि आफूले साथ दिने बताए।
महाधिवेशनमार्फत प्रदेशको भुगोल खुलाबाट ४ पुरुष र २ महिला गरि ६ जना केन्द्रीय सदस्य चयन गरिनेछ। पिछडिएको क्षेत्रमा पर्ने कर्णालीका ६ वटा जिल्ला, सुदूरपश्चिमका ३ वटा जिल्लाबाट २ पुरुष र १ महिलासहित ३ जना केन्द्रीय सदस्य हुनेछन्।
कर्णाली प्रदेशको भुगोल खुलाबाट दैलेखका विष्णु रिजालले केन्द्रीय सदस्यमा दावी गरिसकेका छन्।
कर्णाली प्रदेशबाट यामलाल कँडेलले पार्टीको सचिवमा दावी गरेका छन्। नेकपा एमालेको कर्णाली प्रदेश सहईञ्चार्ज रहेको कँडेल एमालेको कर्णाली प्रदेश सभा दलका नेता पनि हुन्।
चितवनमा आजदेखि सुरु हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता हुनेछ।