नेकपा एमालेको जारी दसौं महाधिवेशन क्रममा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने प्रस्ताव गरेका छन्। यसअघि पदाधिकारी संख्या १५ थियो।
स्रोतका अनुसार उनले उपमहासचिव २ जना र उपाध्यक्ष २ जना थप्ने प्रस्ताव गरेका हुन्। यो प्रस्ताव पारित भए उपमहासचिव संख्या ३ पुग्नेछ भने उपाध्यक्ष ७ जना हुनेछन्।
आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि ओलीले सबैलाई समेटेर लैजाने उद्देश्यअनुरूप यस्तो प्रस्ताव ल्याएका हुन्।
धेरै आकांक्षी भएपछि सहमतिको वातावरण बनाउन पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्ताव पार्टीका नेताहरूले गरेका थिए।
ओलीले अहिले भइरहेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेस गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउन प्रस्ताव पनि गरेका छन्। अहिले केन्द्रीय कमिटी २२५ सदस्यीय छ।
त्यस्तै, ओलीले पोलिटब्युरो ब्युँताउने प्रस्ताव पनि अघि सारेका छन्। यसअघि असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो। त्यसलाई फेरि ब्युँताएर ९९ सदस्यको पोलिटब्युरो गठन गर्ने ओलीको नयाँ प्रस्ताव रहेको स्रोतले जानकारी दियो।