नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्पर्धालाई मात्र लोकतन्त्र नठान्न नेताहरूलाई आग्रह गरेका छन्।
नेकपा एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा ओलीले समझदारीबाट पार्टी नेतृत्व छान्नु उचित हुने धारणा व्यक्त गरेका हुन्।
ओली एमाले महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गर्ने पक्षमा छन्। तर एमाले उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल निर्वाचनमार्फत् अघि बढ्ने पक्षमा छन्।
रावलले पार्टी अध्यक्ष र भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
ओलीले बन्दसत्रको सम्बोधनमा रावलको नाम त लिएनन् तर सांकेतिक रूपमा परिपक्व व्यवहार देखाउन आग्रह गरे।
'कसै न कसैले कुनै न कुनै ठाउँको जिम्मेवारी सम्हाल्नुपर्दछ', ओलीले भने, 'तर आफ्नो महत्त्वाकांक्षाका कारण अस्वस्थ होडबाजी र प्रतिष्पर्धाले संस्थालाई नोक्सान पार्ने खालका गतिविधि नगरौं।'
ओलीले रावल लक्षित सम्बोधन गरेपछि हलमा ताली बजेको थियो।
'कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हालनुपर्छ', ओलीले भने, 'पार्टी एकताको खँदिलोपन बिगार्ने काम नगरौं।'
उनले पार्टीका नेताहरूलाई फेरि पालो आउने बताए।
'फेरि पनि पालो आउँछ', ओलीले भने, 'सानो भए पनि देश छ। पालिकादेखि प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा छ, विभिन्न निकाय छ अरू विभिन्न ठाउँ छ।'
ओलीले परिपक्वता सिङ र जुरोसहित नआउने पनि टिप्पणी गरे।
'लोकतान्त्रिक अभ्यासलाई प्रतिष्पर्धामात्र बुझ्ने र प्रतिष्पर्धालाई अस्वस्थ बनाउने काम नगरौं', ओलीले भने, 'अब पनि हाम्रो व्यवहार सामूहिकतातर्फ केन्द्रित भएन भने सफलता प्राप्त गर्न सकौंला! यो महाधिवेशनमा दुनियाँका लागि नमूना योग्य महाधिवेशन बनाउनुपर्छ।'