चितवनको सौराहामा जारी एमाले महाधिवेशनमा नेतृत्व छान्ने चुनाव सकिएर मतगणना सुरू भइसक्दा उनी फूलमाला लिएर आइपुगेकी थिइन्।
बिहानदेखि सौराहाकी सुमित्रा खनालले महाधिवेशन स्थलमा फूलमालाको पसल थापेकी छन्।
पसलमा उनले १०० वटा फूलमाला राखेकी छन्। साइकलमाथि कागजका कार्टुनमा उनले माला राखेकी छन्। आफू भने एउटा प्लाष्टिकको कुर्चीमा बसेकी छन्।
उनले तिहारमा बेच्न भनेर सयपत्री फूलको खेती गरेकी थिइन्। १० धुर जग्गामा यसपालि पहिलोपटक उनले फूलखेती गरेकी थिइन्।तर यसपालि ढिलोसम्म वर्षा भइरह्यो। पानीका कारण सयपत्री तिहारका बेला फुल्दै फुलेन। जब चाडबाड सकिए अनि उनको बारीमा ढकमक्क फुल्यो सयपत्री।
बेच्न रोपेका सयपत्रीबिना मौसममा फुल्दा उनलाई कम सकस थिएन।
'फूल खेतीले राम्रो कमाइ हुन्छ भनेर यसपालि पहिलोपटक तिहारलाई लक्षित गरेर रोपेको पानी परेकाले बेलामा फुलेन,' उनले भनिन्, 'चाडबाड सकिएसी फूल फुल्यो। खेती उद्घाटन गरेको वर्ष लगानी पनि उठ्ने भएन भनेर पीर लागेको थियो।'
एमाले महाधिवेशन सौराहामा हुने खबरले सुरूमा उनी खुसी भइन्। किनभने महाधिवेशनमा हुने चुनाव जितेकालाई लगाइदिने फूलमाला त नेता/कार्यकर्ताले किन्छन् भनेर आफन्तले उनलाई सुझाएका थिए।
एमाले महाधिवेशन सुरू भएपछि भने उनले माला बुन्ने तयारी गर्ने सोचेकी थिइन्। एमाले महाधिवेशन कहिले सकिन्छ उनलाई थाहा थिएन। अस्तितिर कसैले अब सकिन लाग्यो भनेर सुनाइदिए। उनी हत्तपत्त फूल टिपेर माला उन्न सुरू गरिन्।
हिजो बिहानैदेखि माला उन्न थालिन्। तर यता महाधिवेशनमा चुनावै सुरू भएन। आज पनि फूल टिपेर उनले माला उनिन्। १०० जति माला उनेपछि उनी महाधिवेशन स्थलमा फूल बेच्न बसेकी छन्।
उनले कुनै मालालाई एक सय रुपैयाँ र कुनैलाई १ सय ५० रुपैयाँ पर्ने बताइन्।
'अस्ति सकिनै लाग्यो भनेकाले हिजो हतारहतार बुनें तर यहाँ चुनावै भएन। आज पनि बुनें। हिजो बुनेका अलिक बासी मालालाई सय रुपैयाँ र आज बुनेका ताजा मालालाई एक सय ५० रुपैयाँ मूल्य तोकेकी छु,' उनले भनिन्।
हामीले भेटेको बेलासम्म उनले माला बिक्री गर्न पाएकी थिइनन्। यता मतगणना पनि बल्ल सुरू भएको थियो।