विद्यार्थीसँग उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन पालना नभएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरू अहिले आन्दोलित छन्।
६ महिनाअघि नै मन्त्रालयले शुल्क फिर्ता गर्न एक महिनाको समय सीमा तोकेर गण्डकी मेडिकल कलेजलाई निर्देशन दिएको थियो।
तर शुल्क फिर्ता नपाएपछि दश दिन यता कलेजको बेसिक साइन्स भवनमा विद्यार्थीहरुले ताला लगाइदिएका छन्। जसका कारण एमबिबिएस पहिलो वर्ष र दोश्रो वर्ष, बिडिएस, नर्सिङ, बिएनएस, एप्लाइड साइन्सको पठन पाठन ठप्प छ।
६ महिनाअघि गण्डकी मेडिकल कलेजका विद्यार्थीले चर्को शुल्कविरूद्ध ६१ दिन आन्दोलन गरेका थिए। त्यस क्रममा विद्यार्थीहरूले परीक्षासमेत बहिष्कार गरिदिएका थिए। गण्डकी मेडिकल कलेजमा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी अनित सिन्हाले कलेजले व्यापक रूपमा विद्यार्थीसँग असुली गरिरहेको बताए।
'भर्ना गर्दा पहिलो किस्ता २१ लाख तिर्नु पर्ने हो', सिन्हाले सेतोपाटीसँग भने, 'तर कलेजले ३५ देखि ४० लाख र कतिपयसँग ५५ लाखसम्म उठाएको छ।'
सिन्हा आफैंले समेत भर्नाका क्रममा झोलामा बोकेर ३५ लाख रकम बुझाएको बताउँछन्।
'परीक्षा शुल्क २५ सय हो। तर उनीहरूले १० हजारदेखि १२ हजारसम्म उठाएका छन्,' सिन्हाले भने, 'एनएमसी रजिष्ट्रेशन शुल्क ३५ सय हुनु पर्नेमा ५० हजारसम्म उठाइएको छ।’
कलेजले विद्यार्थीसँग इन्टर्नसिप शुल्कसमेत उठाइरहेको उनले बताए।
विद्यार्थीहरुले कलेजले उठाएको शुल्कका विरूद्ध सञ्चालक खुमा अर्यालसहित ११ जनाविरूद्ध ठगी मुद्दा दायर गरेका थिए। त्यसपछि कलेजका सिइओ सन्तोष खनालले कलेज छाडेको उनले बताए।
'अहिले प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ नै कार्यकारी सिइओ हुनुहुन्छ,' सिन्हाले सेतोपाटीसँग भने, 'प्रिसिन्पलले नै विद्यार्थीलाई प्राक्टिकलमा जिरो नम्बर हाल्दिन्छु भनेर अवैधानिक शुल्कविरूद्धको आन्दोलनमा लाग्नेलाई धम्की दिइरहेका छन्।’
सिन्हाले आफूलाई मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले समेत चिकित्सा शिक्षा संघर्ष समितिमा लागेकै कारण धम्की दिएको बताए। सिन्हा चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव हुन्। संघर्ष समितिका दुई मध्ये एक संयोजक प्रकाश चन्द चितवन मेडिकल कलेजमा भएको आन्दोलनमा पक्राऊ परेपछि छुटाउन उनी भदौ २५ गते चितवन पुगेका थिए।
'म एसपी कार्यालयमा भएको बेला राती ११ बजेसम्म २० पटक खुमा अर्यालले फोन गर्नुभयो', सिन्हाले भने, 'त्यसपछि उहाँले 'यु आर गन' भनेर मलाई म्यासेज गर्नुभयो।'
हेर्नुहोस् भिडिओ-