वर्षमा दिनमा लैलै
हर्षका दिन यी लैलै
दसैंतिहार चाड र बाड
खुशीले सारा भर्यो नि संसार
हरेक दसैंमा सुगम पोखरेलको 'दसैं गीत' लाखौँ दर्शकले हेर्छन्। ‘यो गीत नसुनी दसैं आएजस्तै लाग्दैन,’ युट्युबमा ५० लाख दर्शकले हेरिसकेको यो गीतमा धेरैले यस्तै कमेन्ट गरेका छन्।
गायक सुगम पोखरेलका लागि पनि यो गीत आफ्नो ‘फेबरेट लिस्ट’ मा पर्छ। दसैँ आपपास आयोजना हुने सबैजसो स्टेज कार्यक्रममा प्रस्तुति दिँदा उनले यो गीत गाउनैपर्छ। दर्शकको माग पनि उत्तिकै।
‘यो गीतमा म जहिले पनि ‘इन टच’ छु,’ सुगम पोखरेल भन्छन्, 'यो गीतका कारण मैले दसैं घरमा मनाउन पाउँदिन।’
दसैं आयो कि कहिले युरोप, कहिले अमेरिका पुग्छन्, सुगम। यो दसैं गीत उनले अमेरिकामै फुराएका हुन्। सन् २००८ तिर उनी अमेरिकामा थिए। उनलाई गीतको पहिलो लाइन फुर्यो। गीत पूरा गर्न उनले मेसो पाएनन्। दुई वर्ष यसै बिते।
त्यसपछि उनले आफ्नो साथी रवि श्रेष्ठसँग गीतको आइडिया सेयर गरे। रवि पहिलेदेखि नै गीत कोर्थे। उनले गीतको बाँकी भाग पूरा गर्ने जिम्मा रविलाई दिए। रविले भोलिपल्टै सुगमको हातमा गीत थमाइदिए।
सर्रर हेर्नबित्तिकै सुगमले गीत मनपराए र कम्पोज गरे।
‘यो गीतले यस्तो लोकप्रियता र ‘टर्न ओभर’ गर्छ भनेर मैले सोचेको पनि थिइनँ,’ सुगमले सेतोपाटीसँग भने।
‘गीत रिलिज भएको दोस्रो वर्ष धेरै नेपाली सेनाका साथीहरूले फोन गर्नुभयो,’ उनले भने, ‘एक जनाले त रुँदै फोन गर्नुभयो। देशमै हुँदा पनि चाडबाडमा घर जान नपाएको दुखेसो पोख्नुभयो।’
अहिले जहाँ गए पनि मान्छेले दसैं-तिहार गीत गाउन सुझाउने गरेको उनले बताए। यसपालि उनले छोरी एन्जिलिजासँग ‘शुभ दसैं’ गीत निकालेका छन्। ‘धेरै मानिस विदेशमा छन्। भनेको बेला चाडबाडमा घर आउनु पाउनुहुन्न। यहीँ कारण उहाँहरूले गीतमा पनि आफैंलाई कनेक्ट गर्नुहुन्छ होला,’ उनले भने।
चाडबाडमा परिवारसँग नहुँदा आफू र परिवार दुवैलाई खल्लो लाग्ने उनले बताए। ‘मेरो पनि एउटा छोरी छिन्। अरू केटाकेटीले चाडबाडमा बुबासँग जसरी समय बिताउँछन्, त्यसरी मैले समय दिन नसकेको हो कि भनेर मन खड्किन्छ,’ उनले भने।
दुई-चार वर्षयता उनले एक वर्ष दसैं घरमा, एक वर्ष दसैं सांगीतिक कार्यक्रमलाई छुट्याएका छन्। यसपालिको दसैंमा आफू न्युजिल्यान्डमा हुने उनले बताए। ‘अर्को साल पक्का नेपालमै मनाउँछु,’ उनले भने।
‘दसैं भन्नेबित्तिकै नयाँ नाना, मिठो खाना, लिंगे पिङको याद आउँछ,’ बालापनको दसैं कोट्याउँदै उनले भने। उनले पहिलोपल्ट चंगा काठमाडौं आएरै देखेको सुनाए।
बाल्यकालको दसैं उनको गाउँमै बित्यो। दसैंमा टीका लगाएको पैसाले फिल्म हेर्न, मेला भर्न गएको सम्झना उनले अझै बिर्सेका छैनन्। उनले आफू दक्षिणा सम्झेर मामाघर जान सधैं हतारिने गरेको किस्सा हाँस्दै सुनाए। आफूलाई सानैमा छोरामान्छेलाई दक्षिणा धेरै दिन्नन् भन्ने चेत रहेको बताए।
अहिले त केटाकेटीलाई रेडिमेड कपडा किन्ने चलन छ। उनले सम्झिए, ‘त्यो बेला दसैंमा दर्जीको घरमा कपडा छेकाउने मान्छेको लाम लाग्ने गर्थ्यो।’
पछि विस्तारै रेडिमेड टिसर्ट र जिन्स पाइन्ट आउन थालेपछि सुगमको पनि गेटअप फेरियो। दसैंमा बुबासँग कपडा किन्न जाँदा ब्यान्डहरूको प्रिन्ट भएको कालो टिसर्ट रोज्न थाले। बुबाले चोरले लगाउने कपडा भनेर नकिन्दिएपछि आमालाई फकाएर किन्ने गरेको उनले सुनाए।
अहिलेको दसैंमा पहिलेजस्तो रमाइलो नहुने उनी बताउँछन्। ‘अहिले त मौसम हेर्यो, दसैं आएजस्तो छ। मुखले ह्याप्पी दसैं भन्यो, शुभकामना भन्यो तर भित्रबाट फिल छैन।’
त्यसैले आफूलाई गाउँकै, बालापनकै दसैं रमाइलो लाग्ने गरेको उनले बताए। ‘अहिले म बुबा भएँ। कपाल दारी फुलिसक्यो। टाउकोमा जिम्मेवारी आइसक्यो,' उनी भन्छन्।