काठमाडौंको त्रिपुरेश्वरस्थित उद्योग विभागको अगाडि रहेको पसलमा कैदीहरूले उत्पादन गरेका नेपाली कपडा किन्न पाइन्छ।
गत असोज ८ गतेबाट सञ्चालनमा आएको यो पसलमा केन्द्रीय कारागार कारखानाका कैदीहरूले बनाएका नेपाली कपडा विक्री गरिन्छ।
केन्द्रीय कारागार कारखाना प्रमुख रामहरी ढुंगेलका अनुसार कारखानामा काम गर्ने १ सय ५० कैदी छन्। कैदीहरूले एक मिटर कपडामा तान र रङ हालेबापत २ देखि ६ रुपैयाँ कमाउने गरेको ढुंगेलले जानकारी दिए।
कारखानामा काम गरेबापत कैदीहरूले २० प्रतिशत कैद छुट पाउँछन्। यसरी कैदीहरूले उत्पादन गरेका कपडाहरू बाहिर विक्री गर्न राखेको यो पहिलोपटक हो।
यसअघि कारागारको कारखानाभित्रै कपडाको विक्री हुँदै आएको थियो।
‘कारागारको कारखानाभित्र ग्राहकहरूलाई जान सहज भएन। धेरैले थाहा पनि पाउनुभएन। त्यसैले बाहिर पसल खोलेका हौं,’ ढुंगेलले भने।
यहाँ पाउने कपडाबाट तन्ना, सिरक, तकियाको खोल, कुसन र सर्ट बनाउन मिल्छ। ग्राहकको सहजताका लागि कपडाको मूल्य सूची राखिएको छ। पसल व्यवस्थापनको लागि पूँजी परिचालन कोष गठन गरिएको छ।
‘कोषले नै कर्मचारीलाई तलब, कैदीलाई ज्याला र कपडा उत्पादनको लागि चाहिने सबै सामग्रीको व्यवस्थापन गर्छ,’ ढुंगेलले भने।
हेर्नुस्, भिडिओः